१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

रसुवामा सुकुम्बासीलाई पहिलो निस्सा वितरण

२४ माघ, रसुवा । दक्षिणी रसुवाको कालिका गाउँपालिकाका दलित, भूमिहीन एवं सुकुम्बासीका लागि भूमिको प्रमाणस्वरुप बसोबासको पहिलो निस्सा प्रदान गरिएको छ ।

भूमि आयोग रसुवाका जिल्ला अध्यक्ष लामाकार्पु तामाङका अनुसार सो आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाको उपस्थितिमा भूमिहीन तथा सुकुम्बासीलाई जमिनको स्वामित्व प्रदान गर्न गाउँपालिकाको कार्यालयमा बसी स्थानीय सरकारका प्रतिनिधिकै रोहवरमा नौ जनालाई जग्गा उपलब्ध गराउने पहिलो निस्सा प्रमाण प्रदान गरिएको र जिल्लाभरकै दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने रसुवावासी नागरिकको पहिचान तीव्ररूपमा भइरहेको छ ।

पहिलो चरणमा प्रदान गरिएको निस्सा प्रमाणबाट अब नापी कार्यालयले नाप जाँच गरी क्षेत्रफल यकिन गर्ने, हाल बसोबास गरिरहेको जग्गामा कुनै जोखिमको सम्भावना भएमा उपयुक्त स्थान छनोट गरिनेसमेत बताइएको छ । गत विगतदेखि छनोट भएका भूमिहीन सुकुम्बासीलाई भूमि उपलब्ध गराउन गरेको प्रयासले यस वर्षबाट पूर्णता पाउने अपेक्षा गरिएको छ ।

गाउँपालिकाको इटपारे, कालिकास्थान, आमाछोदिङ्मो गाउँपालिकाको गतलाङ, पुरानो तातोपानी र गोल्जुङ, रोङ्गा दोभान उत्तरगया गाउँपालिकाको बङ्से क्षेत्रमा धेरै बासिन्दा अव्यवस्थित र सुकुम्बासीको रूपमा बसोबास गरिरहेको स्थानीयले जानकारी दिएका छन् ।

प्रकाशित मिति : February 7, 2024 at 3:53 pm