५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

सानिमा माइ हाइड्रोपावरको नाफा सामान्य बढ्यो

२४ माघ, काठमाडाैँ । सानिमा माइ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ४९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५० करोड ४९ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

याे अवधिसम्ममा कम्पनीले ३३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा ३.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको यही अवधिसम्म कम्पनीले ३२ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ३८ करोड १८ लाख बाट घटेर ३६ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ ।

३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ४० करोड २७ लाख रुपैयाँ रहेको छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार १४:१६