९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

मदिराले मातेका कांग्रेस कार्यकर्ताका कारण साैराहमा १४ घण्टादेखि विधुत आपूर्ति बन्द


२२ माघ, सौराहा । मदिराले मातेका नेपाली कांग्रेसका कार्यकर्ताहरूको कारण चितवनको रत्ननगर नगरपालिकाको पर्यटकीय नगरी सौराहामा १४ घण्टादेखि बिधुत आपूर्ति बन्द भएको छ । आइतबार राति सौराहाको हात्ति चोक र गैँडा चोकको बीचमा विधुत प्राधिकरणको ट्रान्समिटरको पोलमा पार्टी कार्यक्रममा सहभागी भएकार फर्किएका नेपाली कांग्रेसका कार्यकर्ताहरू चढेको जिपले ठक्कर दिएको थियो ।

राति १२ः२० बजे बिएसी ९००६ नम्वरको जीप दुर्घटनामा परेको चितवन प्रहरीले जनाएको छ । दैनिकीसँग कुरा गर्दै सौराहाको पर्यटक प्रहरी हवल्दार चित्रकला थापाले रातिको दुर्घटनाका कारण विधुत अबरूद्ध भएको र विधुत प्राधिकरणको टोलीले सुचारू गराउन काम गरिरहेको जानकारी दिइन ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको समुदायमा कांग्रेस अभियान अन्तर्गत संवाद यात्रामा सहभागी भएर सौराहा आएका कार्यकर्ता चढेको गाडी तीब्र गतिका कारण दुर्घटनामा परेको हो । दुर्घटनामा परेको गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने विधुतको पोल पनि पूर्ण रूपमा क्षति भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर गैडाकोट १३ का २७ बर्षिय विपिन पराजुली र भरतपुर १९ का २२ वर्षिय मनिष लामा घाइते भएका छन । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भएको छ । दुर्घटनास्थल नजिकैका एक किराना पसलले नाम बताउने शर्तमा भने, ‘गाडी सय भन्दा बढीको तीब्र गतिमा कुदेको र पर्खाल चढेर पोलमा पुगेर ठोक्किएको मैले नै देखेँ । एक जना भारतीय पर्यटक टुथपेस्ट किन्दै थिए गाडीले झण्डै उनलाई पनि भेटेन ।  दुर्घटना लगत्तै सौराहामा अन्धकार भयो । त्यसपछि आएकका प्रहरीले घाइतेलाई चितवन मेडिकल कलेज पठाइएको र गाडी टाँडी लगे । उनीहरूले मदिराले बेहोस जस्तै देखिन्थे । कांग्रेसका नेताहरू चढेको गाडी रहेछ । भोलि हामीलाई समस्या पर्न सक्छ मेरो नाम चाहिँ नखुलाइिनुहोला । ’

महामन्त्री थापा भने हिजै राति काठमाडौँ लागेको उनी निकटका नेताहरूले बताएका छन । स्थानीयले विधुत प्राधिकरणले लापरबाही पूर्वक सवारी चलाएर दुर्घटना गराउनेसँग क्षतिपूर्ति भराउनुपर्ने माग गरेका छन । यद्यपी दुर्घटना गराउनेहरू पहुँचवाला भएका कारण प्राधिकरणले त्यसो नगर्न पनि सक्छ । चितवन प्रहरीले पनि मदिराको सुरूमा गाडी चलाउँदा दुर्घटना भएर सौराहामा दुइ जना घाइते भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १५:०६