२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

ठेक्का रद्द गरिएको हो तर कमिसनको सेटिङ नमिलेर हैनः ककनी गाउँपालिका

-प्रतिमा ढुंगाना

१७ माघ, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जनले अपारदर्शी निर्णय गर्दै भ्रष्टाचार गरेको भनेर गाउँपालिकाका सबैजसो जनप्रतिनिधिले संयुक्त रूपमा हस्ताक्षर गरेर गाउँसभा बोलाउन माग गरेको समाचार दैनिकीमा प्रकाशित भएपछि उनले स्पष्टिकरण दिएका छन ।

गाउँपालिका अध्यक्ष तामाङले निमित्त प्रमुख प्रशासकीय अधिकृतसँगै एउटै विज्ञप्तिमा हस्ताक्षर गरेर वडा अध्यक्ष र सदस्यहरूले आरोप लगाएको जस्तै कमिसनको डिल नमिलेका कारण ठेक्का रद्द भएको कुरा झुटको रहेको दाबी गरेका छन । उनले ककनी गाउँपालिकाको वडा नम्बर २ को काउलेथाना चित्रे कुले गैरीखर्क चाउथे मोटरबाटोको लागि ५३ लाख विनियोजन गरिएको र टेन्डरमा गैसकेको काम डिजी प्रकाश कन्स्ट्रक्सनले इष्टमेटभन्दा बढी बोलकवल गरेका कराण ठेक्का रद्द हुन पुगेको बताएका छन ।

८ मध्ये पाँच वटा वडाका अध्यक्षहरूले भने गाउँसभा बोलाएर यस विषयमा छलफल गर्न माग गर्दै निवेदन दिएका छन । उनीहरूले मध्ये कतिपयले यस विषयमा आफूहरू अख्तियार दुरूपयोग अनुसन्धान आयोग गुहार्न जाने बताएका छन । गाउँपालिका अध्यक्ष तामाङले जनप्रतिनिधिहरूले लगाएको आरोपको विज्ञप्ति मार्फतको खण्डनको प्रयास गरे पनि उनीहरूको माग अनुसार गाउँसभा बोलाउने विषयमा भने केही बोलेका छैनन् । गाउँपालिका अध्यक्षमा सुशासनको विषयमा गम्भीर विचलन आएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन ।

जनप्रतिनिधिहरूले पाँच बुँदा गाउँपालिका भित्रको बेथिति उल्लेख गर्दै तत्काल गाउँसभा बोलाएर ती विषयमा छलफल गर्नुपर्ने माग गरेकोमा गाउँपालिका अध्यक्षले भने दैनिकीमा प्रकाशित समाचारमा मात्र  स्पष्ट पारेर गाउँसाभा टार्न खोजेको संकेत दिएका छन । गाउँसभा माग गर्नेमा वडा नम्बर ४ का अध्यक्ष सोनाम लामा, ५ का अध्यक्ष बुद्धराज लामा, ७ का अध्यक्ष रामकृष्ण तामाङ, ८ का अध्यक्ष शेषमान तामाङ र २ का कार्यबाहक वडा अध्यक्ष च्यामे तामाङ सहित सम्पूर्ण वडा सदस्यहरू रहेका छन ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार २१:४३