रिलायन्स स्पिनिङ मिल्सको कट अफ प्राइस ९१२ रुपैयाँ, सर्वसाधारणलाई यस्तो छ मूल्य
१५ माघ, काठमाडाैँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रिया मार्फत माघ १० गतेदेखि निष्कासन खुला गरेको सेयरको कट अफ प्राइस ९१२ रुपैयाँ हुने भएको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको सेयरको शिलबन्दी खोलिएको बोलकबोल पत्रहरूमा उक्त मूल्य हुने भएको हो।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेकाे सेयरमा कुल ६४ वटा आवेदन परेको थियो । जसमा १८ वटा संस्थाले ९१२ रुपैयाँमा सेयर खरिदाको लागि आवेदन दिएका छन् ।
कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्काशन गरेको थियो। कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिसेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकेको थियो । साेही सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था रहे पनि माथिल्लो बिन्दुमा नै कट अफ मूल्य तय भएको छ ।
सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था छ । यसकाे अर्थ सर्वसाधारणलाई कम्पनीको सेयर किन्न प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्छ ।
प्रकाशित मिति : January 29, 2024 at 1:44 pm










