६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

आँखा चिम्लेर र आँखा खोलेर देखेकाे सपना अधुरै, किनकि म छाेरी थिएँ (कथा)


–दुर्गा पुडासैनी

स्कुल पढेर ठुलो मान्छे बन्छु म । जागीर पनि खान्छु अनि मेरी बुडि आमालाई मायाँ गरेर राख्छु । विभिन्न सपनाहरु देख्दै मन्द मन्द मुस्काउँदै हिँड्ने गर्थेँ । आँखा चिम्लेर र आँखा खोलेर पनि म सपना देख्दै बस्थेँ । स्कुल पनि गएँ,पढ्न थालेँ केहि आधारनै थिएन मैले राम्रो संग पढ्ननै सकिन । घरको काम छोरी हुनुको पिडा र आँखा खोलेरै देखेका सपनाहरु पुरा गर्ने अभिलासाले मलाइ सताइरहेको थियो ।

बा,आमा,दाजु,दिदिहरु सबै जना हुनुहुन्थ्यो तर पनि म छोरी थिएँ परिवारको प्रेरणा विना कसरी अघि बढ्न सक्थेँर । पाइला चालने कोशिस त नगरेको कहाँ होर, म उभिरहेकै हुन्थेँ तर मलाइ ठाडै तँ छोरी मान्छे भनेर लडाई दिन्थे । घर परिवार धनी त थिए तर म सारै गरीब थिएँ । एक जोर लाज छोप्ने लुगा पनि म भन्दानी गरीब साथी संग आस गर्नु पर्दथ्यो । गोठालो जान्थेँ,घाँस काट्थेँ घरका धेरै कामगर्थें तर पढ्न राम्रो संग दिएनन् ।

मैले प्राय हरेक कक्षाहरु दोहोराएर पढेँ । म संगै स्कुल जानथालेका साथीहरु बी बी एस पास हुँदा पनि म बल्ल नौ मा पढ्दै थिएँ । के कुरा गर्नु आफ्नाको, दाजु भाउजुको बेवहार र बाबु आमा को स्थिती देख्दा मलाई पनि बिहे गरेर जान मनलाग्यो । म राम्रि थिएँ बाटुलो अनुहार पुष्ट जिउडाल,सलक्क परेको लामो कपाल,मिठो बोली केटिहरुले रिस गर्थे केटाहरु जस्ले देखेपनि मनपराउँथे तर घरको व्यवहारले म वाक्क भैसकेको थिएँ ।

म आफैँलाई कुरुप भान हुनलागिसकेको थियो । मैले समय बिताउन मोवाइलको सहारा लिन थालेँ । अरुको दाजुले कति माया गरेर फोन ल्याइदिएको देखेको थिएँ मेरो दाजुले त पुरानो फोन पनि आफुले किनेको भन्दा १ हजार बडि पैसा लिएर मलाई बेचे तेहिपनि किनेँ र चलाउन थालेँ । राम्रा नराम्म्रा सबै खाले मान्छेको फोन आउँथ्यो म सबै सँग एकनासले कुरा गथेँ । मलाई को कस्तोको मतलबनै थिएन म त समय बिताउन र घरको तनाव भुल्न यो अम्बल प्रयोग गर्दै थिएँ ।

सबै जना मलाई बिग्रिएको भनेर कुरा काट्न थालेका थिए । मलाई त्यो पनि वास्ता भएन किनकि मेरो उमेर भनेको खाने लाउने रमाइलो गर्ने मात्र थियो । बाउ भनाउदो हरेक पटक तथानाम मुखछोड्थे माया नै थाहा भएन मलाइ बाउको, बाउ जिउँदो भएपनि मेरो जिवनमा बाउको केहि महत्व थिएन । आमा लाटि सोझी केहि थाहा थिएन म त जे गरेपनि हुने बेवारिसे लास थिएँ ।

दाजुको छुट्टै दुनियाँ थियो । दिदिहरु घर–घरमै वेस्त थिए म सबै जना भएपनि कोहिनभएको अनाथ जस्तै भट्किरहेको थिएँ । म बेवारिसे लास गिद्धले खाए पनि हुने,स्यालले खाएपनि हुने,सबै खालका हिँस्रकहरु मेरो वरीपरी घुमिरहेका थिए । आफ्नै कारणले अरुले हिंसा गर्नु र परिवारको कारणले हिंसामा पर्नु फरक कुरा लाग्दो रहेछ । त्यहिपनि म त छोरी परें दोस जतित सबै मेरै । फोनमा कुरा गर्नेक्रम जारी थियो म घरमा बस्न नसक्ने भैसकेको थिएँ । एउटा केटोले अलि भाबुक भएर प्रेम प्रस्ताब राख्यो म पनि अलि भाबुकनै भएँ र प्रेम प्रस्ताब सुइकारें । मलाई मर्न मन लागिसको थियो मर्न सकेको थिइन बोहुलउने मौका मिल्यो बोहुलाइदिएँ ।

म घर छोडेर भाग्न तयार भएँ र भागेँ पनि । केटोलाई पहिला देखेको थिइन अन्तरजाती पो रहेछ । त्यहिपनि माया गर्छु भन्यो गएँ उसै सँग । आज माया पनि पाएको छु, अन्तरजाती नै किननहोस परिवार पनि पाएको छु र शान्ति पनि मिलेको छ । बिहे गरेकोमा सबैले कुरा काटे पोइल गै नकचरी बिग्रीएर भनेर धेरै कुरा काटे मैले वास्तै गरीन । बन जलेको पो सबैले देख्छन्,मन जलेको कस्ले देख्छ र । म बाँच्न पाएँ सान्ति पाएँ यसैमा धेरै खुसी छु ।

प्रकाशित मिति : २ मंसिर २०७५, आईतवार २०:१६