नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने
४ माघ, काठमाडाैँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ। नेप्सेले बिहिबार एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने जानकारी दिएको हो।
दोस्रो चरणको विद्युत मर्मतसम्भार कार्यका लागि माघ ४ गते बिहीबार साँझ ५ बजेदेखि माघ ६ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा उल्लेख छ ।
‘दोस्रो चरणको विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्यका लागि मिति २०८०।१०।०४ गते बिहीबार साँझ ५ः०० बजेदेखि मिति २०८०।१०।०६ गते शनिबार राती ११ः०० बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । विद्युतीय प्रणाली अद्यावधिक गर्ने यस कार्यमा नेप्से यहाँहरु सबैको साथ र सहयोगको अपेक्षा गर्छ । असुविधाका लागि हामी क्षमा प्रार्थी छौं ’ नेप्सेले जारी गरेकाे सूचनामा भनिएकाे छ ।
यसअघि पनि विद्युत मर्मतसम्भारका लागि गत पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहेको थियो ।
प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १५:५५












