१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

गिरिजाप्रसाद कोइरालाले राजनीतिक अस्थिरताको बिउ रोपेः शंकर पोखरेल

३ माघ, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको कारण देश संकटमा परेको बताउनुभएको छ । नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार चौतारा सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारको नीतिका कारण राज्य टाट पल्टिने तर सरकारको निकटका एक जना उद्योगी अरबपति बन्ने स्थिति आएको बताउनुभयो । यो सरकारले लिएको गलत अर्थनीतिको कारण भएको पोखरेलको भनाइ छ ।

यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभयो । नेकपा एमाले आफ्नो विचारमा स्पष्ट भएकोले देशलाई निकास दिन सक्ने पोखरेलले दाबी गर्नुभयो । माओवादीलाई चुनावमा भाग नै नलिई सांसदमा भाग दिएर तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राजनीतिक अस्थिरताको बिउ रोप्ने काम गर्नुभएको उहाँले बताउनुभयो । ‘अहिलेको अस्थिरता र निराशाको एउटा कारण यो पनि हो’, उहाँले भन्नुभयो ।

राजनीतिक परिवर्तन सफल भयो भनेर अहिले सुतेर बस्ने बेला नभएको उहाँले बताउनुभयो । ‘अब राजनीतिक क्रान्ति सफल भयो भनेर आराम गरेर सुतेर बस्ने बेला हो त ? अब नेतृत्व हासिल गरी समाज परिवर्तनको दिशामा अघि बढ्नु पर्छ’, उहाँले भन्नुभयो ।

पोखरेलले नेकपा एमालेका चुनौती के हुन् र अबको बाटो के हो भन्ने कुरा स्पष्ट भएको बताउनुभयो । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटले यी सबै कुरा क्लियर गरेको पोखरेलले प्रष्ट पार्नुभयो । पार्टीमा अहिले विचारका, संगठनात्मक प्रणाली, राजनीतिक मुद्दा कुनै पनि विषयमा मतभेद नभएको बताउनुभयो । ‘त्यसमा हामी एक ठाउँमा छौँ’, उहाँले भन्नुभयो ।

यति हुँदाहुँदै पनि कतिपय नेता कार्यकर्ताको बिचमा अविश्वास यथावत् रहेको उहाँले बताउनुभयो । आजको राजनीतिको मूल समस्या दक्षिणपन्थी अवसरवाद र राजनीतिक अराजकता रहेको पोखरेलले बताउनुभयो । त्यो केही समस्या माधव नेपाल र झलनाथ खनालले लिएर गएका पनि अझै समस्या पूर्ण रूपमा नसकिएको उहाँको भनाइ छ ।

वैचारिक राजनीतिक कामको अभावमा अवसरवाद जन्मिने उहाँले बताउनुभयो । कठिन संघर्षबाट आएका मानिसहरू पनि अवसरवादी बन्छन् भन्ने कुरामा ध्यान दिन पोखरेलले आग्रह गर्नुभयो । बाली सपार्न गोडमेल र मलजल गर्नु परेजस्तै क्रान्तिकारितालाई जोगाइ राख्नलाई पनि गोडमेल र मलजल आवश्यक हुने पोखरेलले बताउनुभयो । ‘समाज बदल्नु छ भने चेतनाको कुरा गर्नुपर्दछ, समाज बदल्नु छैन भने जे छ त्यही कुरा गरे हुन्छ’, उहाँले भन्नुभयो ।
पोखरेलले पार्टीका नेताहरूले नै समाजमा नयाँ विचार ल्याउनु पर्ने बताउनुभयो । त्यसैले पार्टी नेताले सधैँ नयाँ विचार दिनु पर्नेमा उहाँले जोड दिनुभयो । पोखरेल सिद्धान्त जीवन्त हुनु पर्ने बताउँदै हरेक सिद्धान्त जीवनसँग जोडिनु पर्ने बताउनुभयो ।

सबैभन्दा क्रान्तिकारी भनिएका मोहनविक्रम सिंह आज श्रीमतीलाई राष्ट्रिय सभा सदस्य बनाउन नेपाली कांग्रेससँग बार्गेनिङ गर्ने अवस्थामा पुगेको भन्दै पोखरेलले आलोचना गर्नुभयो । आफूलाई कम्युनिष्ट भन्नेहरू कांग्रेससँग मिल्न पुगेका भन्दै पोखरेलले उनीहरूले लिएको बाटो पुँजीवादको हो कि समाजवादको हो भन्दै प्रश्न गर्नुभयो ।

नेकपा एमाले जनताको बहुदलीय जनवादको बाटोमा हिँडेको पार्टी भएको बताउँदै पोखरेलले जनताको बहुदलीय जनवाद नेकपा एमाले मात्र पेवा नभएको प्रष्ट पार्नुभयो । जनताको बहुदलीय जनवाद नेपाली क्रान्ति र समाज परिवर्तनको विज्ञान भएको पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १८:२७