४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

‘रङ्गेली’ मा सौगातलाई भित्राउने तयारी


२३ पुस, काठमाडाैं । महाशिवरात्रीको दिन पारेर आगामी फागुन २५ गतेबाट फिल्म ‘रङ्गेली’ प्रदर्शनमा आउने तयारीमा छ । केही थान क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै प्रचारलाई तीव्रता दिइरहँदा फिल्मको भने अझै केही प्रतिशत छायांकन गर्न बाँकी नै रहेको खुलेको छ । त्यसका लागि निर्माण टिमले अभिनेता सौगात मल्ललाई कुरिरहेको स्रोत बताउँछ । तर, उनको व्यस्तताका कारण छायांकन जुरेको छैन ।

फिल्ममा सौगातलाई केमियो भूमिकामा प्रस्तुत गर्न लागिएको जानकारी प्राप्त छ । उनको समय मिलेको अवस्थामा आगामी साता सुटिङको तयारी गरिएको छ । फिल्ममा उनलाई भित्राएर निर्माण टिमले कलाकारको ‘लाइनअप’ बलियो बनाउन खोजेको देखिन्छ । ग्याङस्टार कथामा आधारित रहेको फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा मुख्य भूमिकामा छन् ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बनेको ‘रङ्गेली’को कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् भने सह-निर्मातामा युवक कार्की र शिव शंकर चौलागाईँ तथा एशोसियट निर्मातामा विवेक खड्का (योलो) छन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्मका गीतमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ ।

महाशिवरात्रीको विदा भएकाले फागुन २५ गते तीन नेपाली फिल्म रिलिजको तयारीमा छन् । ‘रङ्गेली’सँगै ‘उपहार’ र ‘काँडेतार’बीच भिडन्त हुँदैछ । ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल जस्ता कलाकारहरु छन् भने ‘काँडेतार’मा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ आदिको अभिनय छ । यसहिसाबले फागुन २५ गतेलाई स्टारडमको भिडन्तको रुपमा धेरैले अर्थ्याएका छन् ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार ११:४१