५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

बाहुनडाँगीमा तरुल उत्सव हुने


२१ पुस, झापा । झापाको बाहुनडाँगीमा स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको छ । आगामी माघ १ गते मेचीनगरमा तरुल उत्सव हुन लागेको हो ।
मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले वडाले गत वर्षदेखि उत्सवको आयोजना गर्न थालेको बताउनुभयो । परम्परागत रूपमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका विभिन्न प्रजाति उत्सवमा प्रदर्शनी गरिने उहाँले जानकारी दिनुभयो ।
“हाम्रा परम्परागत खानेकुरामा तरुलको ठूलो महत्व छ । मानव जातिले जङ्गली जीवनदेखि नै तरुल, गिठ्ठा र भ्याकुर खाएर सभ्यतालाई अघि बढाएका थिए”, वडाध्यक्ष कार्कीले भन्नुभयो, “हामीले अग्र्यानिक र ग्रामीण खानेकुराको संरक्षण र प्रचारमा सबैको ध्यान जाओस् भनेर उत्सवको आयोजना गरेका हौँ ।” उहाँले कमल गाउँपालिका–२ समयगढका किसान कर्णबहादुर गुरुङले फलाएको एउटै १६ केजीको सिमल तरुल समेत प्रदर्शनमा राखिने जानकारी दिनुभयो ।
वडाध्यक्ष कार्कीका अनुसार उत्सवमा घर, वन, सिमल, सिठुनीलगायत विभिन्न प्रजातिका तरुल राखिने छन् ।

प्रकाशित मिति : २१ पुष २०८०, शनिबार १८:३५