२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

नुवाकोटमा हत्या गरेर लुटिएको सुन र पैसा बुढानिलकण्ठको जंगलमा गाडिएको अवस्थामा भेटियो


२० पुस, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा ७५ वर्षीय नेत्र कुमारी घर्ती क्षेत्रीको हत्या गरी लुट्ने सुकु तामाङ पक्राउ परेका छन । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ बखतीटोल बस्ने नेत्रकुमारीको हत्या गर्ने युवा पनि सोही ठाउँमा २२ वर्षका सुकु तामाङ रहेका छन ।

सुकु तामाङलाई पक्राउ गरि नुवाकोट जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यान सम्वन्धी कसुर कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको  जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

सुकुले लुटेर हत्यागरेकी नेत्रकुमारी एकल महिला हुन । पुस १६ गते राति १० बजे हत्या गरेर सुकु तामाङ सुनको गरगहना तथा घरमा रहेको नगद, गरगहना लुटी फरार भएका थिए । उक्त लुटिएको गहना उनले बुढानिलकण्ठ नगरपालिका वडा नं.०६ स्थित च्यासिङटोलको जंगलमा झाडी मुनि जमिनमा गाडेर राखेको अवस्थामा भेटिएको छ ।

प्रहरीले घटनास्थलबाट त्रियासी हजार नगद, १ जोडी बेरुवा सुन, पोते बिनाको सानो तिलहरी १ थान बरामद गरेको छ । लुटिएको पैसा र गहनाको घटनास्थल पत्ता लगाउनका लागि  नेपाल प्रहरीको केनाईन महाशाखा महाराजगञ्जबाट प्रहरी अधिकृतको कमाण्डमा रहेको तालिम प्राप्त दक्ष कुकुरले घटना अनुसन्धानमा महत्वपूर्ण सहयोग पुर्याएको डिएसपी खड्काले जानकारी दिएका छन ।

नेत्रकुमारी घर नजिकै गोठमा मृत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले अनुसन्धान कार्यअघि बढाएको थियो ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार ०७:२९