एनटिसीसहित ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१८ पुस, काठमाडाैँ । विभिन्न ७ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल टेलिकम, शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक र बुटवल पावर कम्पनी लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी ७ वटै कम्पनीले पुस १९ गते बुक क्लोजको मिति तय गरेका छन् । त्यसैले आज (पुस १८ गते बुधबार) सम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनी मात्रै यी कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुने सक्नेछन् ।
शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोही लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ९ बजे शुरु हुनेछ।
नेपाल टेलिकम (एनटिसी)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे शुरु हुनेछ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले पुस २६ गते बिहीबार, दिउँसो २ बजे अग्रवाल भवन, कमलपोखरी, काठमाडौमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ।
मुक्तिनाथ विकास बैंकले हाल कायम चुक्ता पूँजीको ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद लाभांश गरी जम्मा १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोही प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते, सिटी स्क्वायर, न्यूरोड, पोखरामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा दिउँसो १ बजे शुरु हुनेछ।
महालक्ष्मी विकास बैंकले सेयरधनीहरुलाई चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैकले पुस २८ गते, लैनचौर ब्याङ्क्वेट, नेपाल स्काउट कम्पाउण्ड, लैनचौर, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यसैगरी, ग्लोबल आइएमई लघुवित्तले कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । सोही प्रस्ताव पारित गर्न पुस २९ गते, बेस्ट रिसोर्ट नेपाल प्रा.लि. लेकसाइड पोखरामा ११ औँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यस्तै, बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ।
प्रकाशित मिति : १८ पुष २०८०, बुधबार ०९:१६












