१७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026

लिखुका जनप्रतिनिधि र कर्मचारीले खाएको पैसा तिरेनन्, होटल प्रवेशमै निषेध गरियो

१७ पुस, नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि नुवाकोटकै लिखु गाउँपालिका वडा नम्बर ३ मा रहेको मार्कोपोलो रिसोर्ट निषेधित बनेको छ । गाउँपालिकाका नाममा जनप्रतिनिधि र कर्मचारीले रिसोर्टमा गएर खाएको पैसा समेत नतिरेपछि सञ्चालक शिवराज लामिछानेले सामाजिक सञ्जाल मार्फत नै सूचना सार्वजनिक गरेका छन ।

गाउँपालिकाले विभिन्न समयमा गरेको कार्यक्रमको पैसा समेत नपाएको लामिछानेको गुनासो गरेका छन । लामिछानेले कतिपय कर्मचरीले त रिसोर्टमा गएर टन्न खाने गरेको र पैसा माग्दा मलाइ किन खुवाइस भन्दै उल्टै थर्काउने गरेको पनि बताएका छन । उनका अनुसार २०८० असार २८ गतेपछि सञ्चालन भएका कार्यक्रमको भुक्तानी हुन सकेको छैन ।

भुक्तानीका लागि पटक पटक धाउँदा पालिकाका कर्मचारी र जनप्रतिनिधिले भिख माग्न गएको जस्तो व्यवहार देखाएको र कार्यालयले आफैँ हिसाब नराखेर हरेक कर्मचारीलाई स्पष्टिकरण दिनुपरेको पनि बताएका छन । उनले अझ पछिल्लो समयमा बिलको जिम्मा लिने कर्मचारी नै नभेटेको पनि बताएका छन ।

कतिपयले चुनावको समयमा खाएको समेत नतिरेको दुखेसो लामिछानेले निषेधको सूचना मार्फत पोखेका छन ।उनले व्यक्तिगत रूपमा पैसा भुक्तानी गरेर खानेका लागि रिसोर्ट खुला भएपनि पालिकाको नाममा खानेका लागि निषेध गरिएको बताएका छन ।

यस विषयमा दैनिकीले गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष नरहरि पाण्डे र पालिकाका साताैँ तहका अधिकृत रामचन्द्र लामिछानेसँग सम्पर्कको प्रयास गरे पनि तीनै जनाको फोन उठेन ।

प्रकाशित मिति : January 2, 2024 at 8:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/