१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

गभर्नर अधिकारी विरूद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

१३ पुस, काठमाडाैं । गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटको सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ।

उनीविरूद्ध परेको रिटको पेशी शुक्रबार सर्वोच्चकी न्यायाधीश सुष्मलता माथेमाको इजलासमा परेको छ।  सो इजलाशको तेस्रो नम्बरमा गभर्नर विरुद्द परेको रिटको पेशी रहेको छ  ।

बिहीबार गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित चार जनाले रिट दायर गरेका थिए। त्यसको प्रारम्भिक सुनुवाइ शुक्रबार हुन लागेको हो।

सरकारले केन्द्रीय बैंकका पूर्वगभर्नर अधिकारीलाई २०७६ साल २४ चैतमा गभर्नरमा नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा भएको गभर्नरको योग्यतासम्बन्धी व्यवस्थामा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानुनमा स्नातकोत्तर भई त्यही क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

गभर्नर अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सरहको समकक्षता लिएको जिकिर गरेको भएपनि ऐनमा स्नातकोत्तर तह उत्तीर्ण भएकै हुनुपर्ने सर्त तोकेकाले समकक्षताको भरमा योग्यता नपुग्ने रिटमा भनिएको छ ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार ११:५३