४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

केकी र प्रदीप रक्सी पिउनेको अनुभव सुन्न विभिन्न सहर जाने, कानुन विपरित पिउन अपिल


१२ पुस, काठमाडाैँ । कलाकार केकी अधिकारी र प्रदीप खड्काले कानुन विपरित मदिरा (रक्सी) पिउन अपिल गरेका छन । सामाजिक सञ्जाल मार्फत भिडियो सामग्री नै बनाएर कालाकारद्धयले रक्सी पिउन अपिल गरेका हुन ।

सबैजसोले पिउने गरेको भए पनि रक्सीलाइ जनस्वास्थ्यका लागि हानिकारक मानिन्छ । उनीहरुले एरिस्टोक्याट नामक रक्सीको फेसबुक पेजमार्फत् विज्ञापन गरेका हुन्। आफू ब्राण्ड एम्बेस्डर भएको र विभिन्न सहरहरूमा समेत आउने बताउँदै उनीहरूले रक्सीको स्वाद लिन अनुरोध गरेका छन ।

केकी अधिकारी विज्ञापनमा भन्छिन्, ‘यो उत्कृषट छ भन्ने मलाई विश्वास छ। तपाईंहरुले टेस्ट गर्नुभएको छैन भने छिटै टेस्ट गर्नुहोस्, यसबारेमा कुरा गर्न तपाईँहरुको शहर आउँदै छु ।’ त्यसको बढाइचढाइ गर्दै अर्का ‘ब्रान्ड एम्बेस्डरु खड्काले ‘कुलीन र सम्भ्रान्त’ भनेको हामी नेपाली हौँ भन्दै त्यसलाई मदिरासँग जोडेका छन् । उनले आफूलाई उक्त मदिरा ‘उत्कृष्ट’ भएको विश्वास रहेको बताउँदै अरुलाई पिउन सिफारिस गरेका छन्।

जनस्वास्थ्य सेवा ऐन २०७५ ले स्वास्थ्यका लागि हानिकारक रहेको मदिरालगायत स्वास्थ्यका लागि प्रतिकुल वस्तुको प्रचार सामाग्री उत्पादन, वितरण र प्रचार तथा प्रसारणमा रोक लगाएको छ। जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन तथा प्रचार प्रसार शिर्षक रहेको ऐनको दफा ४५ को उफदफा १ ले उक्त कार्य निषेध गरेको हो । जहाँ भनिएको छ, ‘मदिरा, चुरोट, सुर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन।’

यसैगरी उपदफा २ मा मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवा तर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न नपाइने प्रस्ट रुपमा उल्लेख गरिएको छ। उक्त ऐन विपरित कार्य गरेमा १० हजारसम्म जरिवाना गरिने दफा ५३ को ‘घ’ ले स्पष्ट बताएको छ ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १५:२८