२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

भूकम्पपीडितलाई मानवसेवा आश्रमको २० लाख बराबरको खाद्यान्न सहयोग

११ पुस, काठमाडौँ । मानवसेवा आश्रमको सहजीकरण र आनी छोइङ डोल्मा फाउन्डेसनले भूकम्पपीडितलाई आज रू २० लाख बराबरका खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । गत कात्तिक १७ जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट घरबारविहीन भएका पीडितलाई आज फाउन्डेसनले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो ।

भूकम्प प्रभावित दुई सय ५० घरधुरीलाई प्रतिपरिवार एक बोरा चामल, पाँच किलो दाल, दुई किलो सोयाबिन, दुई किलो नुन र दुई लिटर तेलसहित न्यानो ब्ल्याङ्केट वितरण गरिएको । त्यस्तै चार सय बालबालिकालाई न्यानो कपडासहित जुत्ता वितरण गरिएको छ ।

भौगोलिक विकटताका कारण भूकम्प गएको दुई महिना बितिसक्न लाग्दासमेत जाजरकोटको ध्यार गाउँमा कुनै पनि सरकारी तथा गैरसरकारीतर्फबाट राहत प्राप्त हुन नसकेको अवस्थामा उक्त सहयोगले कष्टपूर्ण जीवन बिताइरहेका भूकम्पपीडितलाई राहत पुग्ने आनी छोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले बताए ।

गायिका तथा समाजसेवी आनी छोइङ, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिना, कर्णाली प्रदेश संयोजक सञ्जिता गौतमलगायतको टोलीले राहत वितरण गरेका थिए ।

प्रकाशित मिति : December 27, 2023 at 4:15 pm