१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पाँच वाणिज्य बैंकले सेयरधनीलाई बनाए निराश, अन्य कुनले कति दिए लाभांश ?

६ पुस, काठमाडौं। वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । बैंकहरूले गत आर्थिक वर्ष २०७९र ०८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरिरहेका छन् भने केही बैंकहरूले उक्त आर्थिक वर्षमा सेयरधनीलाई हात खाली गराएर निराश बनाएका छन् ।

कुमारी बैंक,हिमालयन बैंक,एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र नेपाल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन् । एनआईसी एशिया, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड, सानीमा बैंक, माछापुछ्रे बैंक,नबिल बैंक,नेपाल एसबीआई बैंक,ग्लोबल आइएमई, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंकले भने सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

अहिलेसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश एनआईसी एशियाले वितरण गर्ने भएकाे छ। बैंकले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले २९ प्रतिशत बाेनस सेयर र १.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकाे छ ।  त्यस्तै, एभरेष्ट बैंकले १० प्रतिशत बाेनस सेयर र १०. ५३ प्रतिशत नगद लाभांश गरी कुल २०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।

माछापुछ्रे बैंकले १३.३० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४.७० प्रतिशत नगद लाभांश वितरण गरीसकेकाे छ । यस्तै, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने घोषणा गरेको छ। सिटिजन्स बैंकले ५.७९ प्रतिशत नगद लाभांश मात्र दिने भएको छ।

सिद्धार्थ बैंकले पनि यो वर्ष नगद लाभांश मात्र दिने भएको छ। बैंकले ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी कुल ९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

नेपाल एसबिआइ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै, नबिल बैंकले यो वर्ष सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । अब कृषि विकास बैंक,प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने लाभांश घोषणा गर्न बाँकी रहेकाे छ ।

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार १०:४५