६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

पोखरामा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको योग फेस्टिबल हुँदै

२ पुस, गण्डकी । पोखरामा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको योग फेस्टिबल हुने भएको छ । धार्मिक एवं पर्यटकीयस्थल काहूँडाँडामा तीन दिनसम्म योग फेस्टिबल हुन लागेको हो ।

महोत्सवमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकाको सहयोग रहेको छ । योग कनेक्शनको आयोजनामा हुने यस फेस्टिबलको इभेन्ट म्यानेज प्रचार र स्पेक्स फोर्टिनले गर्ने भएको छ । पुस २ गतेदेखि पुस ४ गतेसम्म चल्ने फेस्टिबलमा योग आसन (हठ, विन्यास, क्रिया), प्राणायम र ध्यान, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङ्गिङ सर्कल, काकाओ सेरेमोनी, इनर चाइल्ड हिलिङ, योग निद्रा, लाइभ म्युजिक, ह्युमन मण्डला वर्कशव, नादा योगा, फायर शोलगायतका कार्यक्रम हुने इभेन्ट म्यानेजमेन्ट संस्था प्रचारका आशीष पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रख्यात योग मेन्टरर्स जायन (विन्यास योग), योगी प्रितु (क्रिया योग), यानित्जा देरु (योग निद्रा तथा साउण्ड हिलिङ), सिद (शमानिक साउण्ड हिलिङ), राघव (साउण्ड हिलिङ, कीर्तन), काते (नादा योग एण्ड मन्त्र एक्सपिरियन्स), गौरव (नुर्टुरिङ रुट्स, इनर चाइल्ड हिलिङ), डिजे कान (एक्स्टेटिक डान्स ध्यान, डीजे दीप (एक्स्टेटिक डान्स) रहनेछन् ।

माछापुच्छ«े, धौलागिरिसहित अन्नपूर्ण हिमश्रृङ्खलाको पृष्ठभूमि बनाएर चिसो र स्वच्छ वातावरणसहित फराकिलो मैदानमा करिब तीन दर्जन देशीविदेशी योगप्रेमीहरुको सहभागिता रहने उहाँको भनाइ छ ।

‘आत्माको परमात्मासित मिलनको अनुभूतिको नाम योग हो । योग शब्दको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो ।’ पुरीले भन्नुभयो, “अहिले मानिसलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । मनसँग शरीरको जोडलाई नै योग मान्ने गरिएको छ । यसर्थ शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जीउने कलालाई नै योग भएकाले हामीले यस कार्यक्रम पोखरामा ल्याएका हौँ ।”

योग स्वस्थ व्यक्तिका लागि जीवन पद्धति र योगीहरूका लागि साधनापद्धति भएकाले यसबारे जनचेतना फैलाउन आवश्यक रहेको उनी बताउँछन् । मानसिक स्वास्थ्यका लागि तनाव कम गर्न, खानपानमा सुधार गर्न र शारीरिक लचकताका लागि पनि योग अपरिहार्य रहेको पुरीको जोड छ ।

पोखरामा अन्तर्राष्ट्रियस्तरको योग फेस्टिबल नै पहिलो पटक हुन लागेको आयोजकको दाबी छ । अहिले योग फेस्टिबल राज्यस्तरबाटै हुन थालि सकेको छ । गत जेठमा सार्क राष्ट्रसहित इरान र साउदी अरबका खेलाडी सम्मिलित माउन्ट एभरेष्ट योग फेस्टिबल प्रतियोगितात्मक हिसाबमा सम्पन्न भएको थियो । पोखरामा भने योगका कला प्रशिक्षण मात्र हो ।

स्पेक्स फोर्टिनका महेश्वरसिंह भण्डारीले कार्यक्रमको सबै तयारी पूरा भएको जनाउँदै कार्यक्रम स्थल काहुँडाँडा हुने र पाहुनालाई होम स्टेमा आवास सुविधासहित राखिने जानकारी दिनुभयो । भोलिदेखि हुने योग फेष्टिबलमा १० देशका ३० जना भन्दा बढीको सहभागिता रहने उहाँको भनाई छ ।

प्रकाशित मिति : December 18, 2023 at 7:04 am