६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

पेस्तोल र खैरो हेरोइनसहित भक्तपुरबाट २ जना पक्राउ

२९ मंसिर, काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हतियार तथा लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पर्नेमा इलाम जिल्लाको इलाम नगरपालिका–९ बस्ने ४१ वर्षीय चिरञ्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय लेखबहादुर कार्की रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकृत तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रहरीले केएफ–७ दशमलव ६५ लेखिएको पाँच राउण्ड गोली लोड भएको म्याग्जिनसहितको एउटा पेस्तोल, उक्त पेस्तोलमा लाग्ने खाली म्याग्जिन एक थान तथा लागुऔषध खैरौ हेरोइनजस्तो देखिने लेसिलो पदार्थ पाँच ग्रामसहित बरामद गरेको छ ।

भक्तपुर, सुर्यविनायक नगरपालिका–१० नलिन्चोक एरियामा अवैध हतियार तथा लागुऔषधको ओसारपसार र कारोबार हुँदैछ भन्ने गोप्य सूचना प्राप्त भएपश्चात् यस कार्यालयबाट खटिएको विशेष टोलीले निजहरूलाई पक्राउ गरेको सूचना अधिकृत तथा प्रहरी उपरीक्षक केसीले बताए । उनले भने, “आज निजहरूलाई लागुऔषध तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि प्रहरी बृत्त जगाति पठाइएको छ ।”

प्रकाशित मिति : December 15, 2023 at 4:04 pm