मौद्रिक नीतिको समीक्षापछि बैंकहरुले घटाउन थाले ब्याजदर, कुनको कति घट्यो ?
२४ मंसिर, काठमाडाैं । मौद्रिक नीतिको समीक्षापछि बैंकहरुले ब्याजदर घटाउन थालेका छन्। केन्द्रीय बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेसँगै बैंकहरुले ब्याजदर घटाएर सूचना प्रकाशित गर्न थालेका हुन्।
कुमारी बैंकले शनिबार अघिल्लो महिनाको तुलनामा करिब १ प्रतिशत विन्दुले ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेकाे छ। मंसिर महिनामा ६ महिनाभन्दा बढीको मुद्दती निक्षेपको ब्याजदर १०.०१ प्रतिशत तोकेको बैंकले मंसिर २४ गतेदेखि नै लागु हुने गरी प्रकाशित गरेको ब्याजदरमा ६ महिनादेखि १ वर्षसम्म अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.०१ प्रतिशत तोकेको छ। १ वर्षभन्दा बढी अवधिको ब्याजदर भने ९.६१ प्रतिशत तोकेको छ।
साथै, बैंकले साधारण बचतको अधिकतम ब्याजदर घटाएर ६.७१० प्रतिशत कायम गरेको छ। यसअघि बैंककाे साधारण बचतको अधिकतम ब्याजदर ७.५१० प्रतिशत थियो।
यसैगरी, एनआइसी एशिया बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशतमा झारेको छ। बैंकले आइतबार प्रकाशित गरेको सूचनामा ३ देखि ६ महिनासम्मकाे मुद्दती निक्षेपको ब्याजदरलाई ७ प्रतिशतमा झारेको छ। बैंकले २ वर्षभन्दा बढी अवधिको मुद्दतीमा भने ८.६७ प्रतिशत ब्याज दिने जनाएको छ।
व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.६१० प्रतिशत र संस्थागतमा ७.६१० प्रतिशत ब्याज दिने बैंकले जनाएकाे छ। साथै, बैंकले साधारण बचतको अधिकतम ब्याजदर घटाएर ६.७१० प्रतिशत कायम गरेको छ। यसअघि यस्तो ब्याजदर ७.५१० प्रतिशत थियो।
प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १३:५६