सामाजिक सञ्जालमा सेयर किनबेच गर्न उत्साहित गराउने सूचना नराख्न धितोपत्र बोर्डको आग्रह
२२ मंसिर, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले सामाजिक सञ्जालमार्फत सेयर खरिद बिक्री गर्न उत्साहित गराउने जानकारी सम्प्रेषण नगर्न आग्रह गरेको छ । धितोपत्र बोर्डले शुक्रबार सूचना सार्वजनिक गर्दै विभिन्न सञ्चार माध्यम, फेसबुक, युटयुव, क्लवहाउसजस्ता सामाजिक सञ्जालमार्फत नेप्सेमा सूचीकृत कम्पनीको सेयर मूल्य बढ्ने वा घट्ने भन्दै सेयर खरिद वा बिक्री गराउन उत्साहित गर्ने सूचना सम्प्रेषण नगर्न आग्रह गरेको हाे ।
‘धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यहोरा जानकारी गराउँदै सञ्चार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयरहरु खरिद तथा बिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्यहरु अविलम्व रोक्न सूचित गरिन्छ’, सूचनामा भनिएको छ।
त्यस्ता कार्यहरु गरे वा गराएको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने पनि उसको चेतावनी छ।
प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १७:०२