सर्वोत्तमको आईपीओ भर्न सर्वसाधारणले १८ हजार रुपैयाँ जोहो गर्नुपर्ने
१३ मंसिर, काठमाडौं । सर्वोत्तम सिमेन्टको साधारण सेयर (आईपीओ) भर्नका लागि सर्वसाधारणले कम्तिमा पनि १८ हजार रुपैयाँ जोहो गर्नुपर्ने भएको छ । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएकाले सर्वसाधारणले न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्नेछ ।
कम्पनीले सर्वसाधारणका लगि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आईपीओ निष्काशन गर्नेछ । जसले गर्दा सर्वसाधारणले ५० कित्ता आईपीओ किन्न कम्तीमा १८ हजार ४५ रुपैयाँ चाहिने भएको हो । सो मौज्दात रकम बैंक खातामा नभएको खण्डमा आवेदन स्वतः रद्द हुनेछ ।
आईपीओ बाँडफाँडका क्रममा पर्ने लगानीकर्ताले कम्तीमा ५० कित्ता नै सेयर पाउने छन् । सर्वोत्तम सिमेन्टको आईपीओ संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँड गर्ने क्रममा ‘कटअफ प्राइस’ ४०१ रुपैयाँ तय भएको थियो ।
बुक बिल्डिङ निर्देशिकाअनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुन्छ । कटअफ मूल्य ४०१ रुपैयाँ हुँदा त्यसको १० प्रतिशत अर्थात् प्रतिकित्ता ४० रुपैयाँ १० पैसा कममा सर्वसाधारणलाई जारी गरिनुपर्ने व्यवस्था छ । यसअनुरुप सर्वसाधारणलाई ३६० रुपैयाँ ९० पैसा पर्ने भएको हो ।
सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्तालाई ६० लाख कित्ताको ४० प्रतिशत अर्थात २४ लाख कित्ता निष्काशन गरिसकेर अब सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गर्दैछ । सर्वसाधारणको लागि कम्पनीले ६० लाख कित्ताको बाँकी ४० प्रतिशत अर्थात ३६ लाख कित्ता निष्काशन गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
प्रकाशित मिति : 11:22









