१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बसाइँसराइको फाइदा पनि छ, गाउँमा फलेको सुन्तलाले बजार पायोः अध्यक्ष पोखरेल


३ मंसिर, गुल्मी । देशको उत्कृष्ट बनेको गुलमीको घुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँमा फलेको सुन्तला किनेर खाइदिन सहरिया नागरिकमा अपिल गरेका छन । सामाजिक सञ्जाल मार्फत अध्यक्ष पोखरेलले किसानको उत्पादनको मूल्य सिर्जनाका लागि सहरमा बस्नेहरूले गाउँको सुन्तला किनेर खाइदिनुपर्ने बताएका हुन ।

अध्यक्ष पोखरेलले बसाइँसराइ बेफाइदासँगै फाइदा पनि रहेको भन्दै पहिले गाउँमा बिक्री नहुने सन्तला अहिले बिक्री हुन थालेको बताएका छन । उनले सहर पुगेर सुविधा र सुखको उपभोग गर्नेहरूले किनेर खाइदिँदा गाउँमै रमाउन चाहने किसानका लागि पनि राम्रो भएको बताएका छन ।

अध्यक्ष पोखरेलले प्रति किलोग्राम ३५ देखि ५० रुपैयाँसम्म तिरेर गाउँमै आएर व्यापारिले सुन्तला किन्ने गरेको पनि बताएका छन । गुल्मीको नयाँ गाउँको सुन्तला लुम्बिनी प्रदेशको विभन्न सहरमा पुगेको बताउँदै अध्यक्ष पोखरेलले गाउँ छाडेर जानेले गाउँकै उत्पादन खाइदिनु राम्रो हुने बताएका छन ।

अध्यक्ष पोखरेलले भनेका छन, ‘बसाइँसराइ का केही बेफाइदा छन गाउमा पहिले पहिले बिक्री नहुने सुन्तला गाउँ बाट शहर गएर सुबिधा र सुखको अनुभुती गर्ने हरुले सुन्तला किनेर खाइदिदा गाउमै रमाउने किसानको उत्पादनले बजार पाएको छ बोटमै ३५ देखि ५० रुपैया प्रति केजी सुन्तला किन्न ब्यापारी घरमै आउछन । बसाइँसराइका कारण किसान को उत्पादन ले बजार पाएको छ सकारात्मक कुराको पनि बहस गरौ । नयागाउको सुन्तला लुम्बिनी प्रदेशको विभिन्न सहरमा पुग्ने गरेको छ । गाउँ छोडे पनि गाउको उत्पादन प्रयोग गर्न नभुलिदिनु होला ।’ पोखरेल गत चुनावमा धुर्कोटको अध्यक्षका लागि दोस्रो पटक विजयी भएका थिए । उनी माओवादी केन्द्रका नेता समेत हुन ।

यसअघि प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गुल्मीको धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट ५ गाउँपालिकामध्ये तेस्रो नम्बरमा परेको थियो । आयोगले तयार पारेका १७ सूचकमा मूल्यांकन गर्दा ७६.५४ अंक प्राप्त गर्दै धुर्कोट गाउँपालिका उत्कृष्ट तीनमा र लुम्बिनी प्रदेशमा पहिलो भएको थियो ।

नेपालका ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै ७८.६९ अंक प्राप्त गर्दै डडेल्धुराको अजयमेरु गाउँपालिका पहिलो भएको थियो। त्यस्तै मुस्ताङको लो घेकर–दामोरकुण्ड गाउँपालिका ७७.११ अंक ल्याएर दोस्रो भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १५:२१