१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदरः माछापुच्छ्रे बैंकले बढायो, अन्य कुनको कति ?

१ मंसिर, काठमाडौं । अधिकांश वाणिज्य बैंकले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशतसम्म घटाएका छन् । कात्तिकमा वाणिज्य बैंकहरुको व्यक्तिगत र संस्थागततर्फको मुद्दति निक्षेपको औसत ब्याजदर क्रमशः ९.९६४२ र ७.८५३२ प्रतिशत रहेको थियो । मंसिरमा घटेर व्यक्तिगत र मुद्दति निक्षेपतको औसत ब्याजदर क्रमशः ९.६३२४ र ७.५४६६ प्रतिशत कायम भएको छ ।

सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये  १३ वटा बैंकहरूले आगामी मंसिरका लागि ब्याजदर घटाएका छन् भने ६ वटाले स्थिर राखेका छन् । मंसिरमा माछापुच्छ्रे बैंकले मात्रै ब्याजदर बढाएको छ । माछापुच्छे बैंकले मंसिरमा बचतमा ५.६० देखि ८.६० प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, माछापुच्छे बैंकले मंसिरका लागि व्यक्तिगत र संस्थागत तर्फ क्रमशः १०.६०३ प्रतिशत र ८.६०३ प्रतिशत कायम गरेको छ । कात्तिकमा यस बैंकले व्यक्तिगत निक्षेप तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको थियो ।

 नेपाल बैंक, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंकले मंसिरमा ब्याजदरमा कुनै घटबढ गरेका छैनन् । यी बैंकले कात्तिकको ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

नेपाल बैंकले मंसिरमा व्यक्तिगत निक्षेपमा ९.२२ र संस्थागततर्फ ७.२२ प्रतिशत, सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९.९५ र संस्थागततर्फ ७.९५ प्रतिशत, सिद्धार्थले व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगततर्फ १० र संस्थागततर्फ ८ प्रतिशत, कुमारीले व्यक्तिगततर्फ १०.०१ र संस्थागततर्फ ८.०१ प्रतिशत र प्राइम बैंकले व्यक्तिगततर्फ १०.२५ र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याज दिने भएका छन् । यी बैंकहरूले कात्तिकमा पनि सोहस् ब्याजदर दिएका थिए ।

सबैभन्दा बढी ब्याजदर घटाउनेमा एनआईएसी एशिया बैंक रहेको छ । बैंकले कात्तिकमा व्यक्तिगततर्फ ११.००३ र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याज दिएको थियो । भने बैंकले मंसिरका लागि व्यक्तिगततर्फ ८.९६ र संस्थागततर्फ ६.९६ प्रतिशत ब्याज दिने भएको छ ।

यस्तै, एनएमबि बैंकले मंसिरमा व्यक्तिगततर्फ ९.७६ र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर तोकेको छ । कात्तिकमा बैंकले व्यक्तिगततर्फ र संस्थागततर्फ  क्रमशः ११.००३ र ९.००३ प्रतिशत ब्याज दिएको थियो ।

मंसिरमा एभरेष्ट, प्रभु, सानिमा र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशत ब्याजदर तोकेका छन् । कात्तिकको तुलनामा यी बैंकको ब्याजदर मंसिरमा घटेको छ । कात्तिकमा यी बैंकले व्यक्तिगत तर्फ र संस्थागत तर्फ ९.२२४ र ७.२२४ प्रतिशत  ब्याजदर तोकेका थिए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको मंसिरका लागि व्यक्तिगत निक्षेपतर्फ ८.९७ र संस्थागततर्फ ५.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ९.१ र संस्थागततर्फ ७.१ प्रतिशत, कृषि विकासले व्यक्तिगततर्फ ९.५१२ र संस्थागततर्फ ७.५१२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले व्यक्तिगततर्फ ९.५१ र संस्थागततर्फ ७.५१ प्रतिशत तथा ग्लोबल आइएमईले व्यक्तिगततर्फ ९.६ र संस्थागततर्फ ७.६ प्रतिशत ब्याजदर दिने भएको छ ।

त्यस्तै, हिमालयन र नेपाल एसबिआईले मंसिरका लागि व्यक्तिगत निक्षेपमा १०.६३ प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याज दिने भएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ०९:४५