रविको प्रश्नः सत्ताधारी दलकै कैयौं नेता भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने ?
२७ कात्तिक, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारकाे टिकटक बन्द गर्ने निर्णयको विरोध गरेका छन्। लामिछानेले सोमबार सामाजिक सञ्जालमा लेख्दै सामाजिक संजाललाई बन्द नगरेर नियमन गर्नुपर्ने बताएका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय लिएको थियो। यसको निर्णय बाहिरिएसँगै सत्तारूढ दलकै नेताहरूले पनि विरोध जनाएका छन्। सरकारकाे निर्णयबारे सभापति लामिछानेले प्रश्न गर्दै भनेका छन्,‘यो निर्णय गर्ने सत्ताधारी दलकै कैयौं नेताहरू भ्रष्ट होलान्। के अब पार्टी नै बन्द गरिदिने हो त? मूलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरू सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कैयौं समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कैयौं अफवाहलाई मूलधारले फेक प्रमाणीकरण गरे ।’
लामिछानले समस्या प्लेटफर्मको नभई सामग्रिकाे रहेको, अराजकता माध्यमको नभएर अभिव्यक्तिमा रहेको बताए । उनले टिकटकका कैयौं उपयोगकर्ता र सामग्री खराब रहेको तर सबै उपयोगकर्ता र सामग्री खराब नभएको तर्क गर्दै प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिने बताए । ‘आजको युगमा सामाजिक सञ्जाल (सोसल मिडिया)को विकल्प सुधारिएको सामाजिक सञ्जाल हो’ रविले लेखेका छन्, ‘सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ?’
प्रकाशित मिति : 16:53









