२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशन मिति सर्यो, अब कहिलेदेखि हुन्छ खुला ?

२० कात्तिक, काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्कासनको मिति सरेको छ । कम्पनीले पहिलो चरणको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओको निष्काशन मिति सरेको हो ।

अब कम्पनीले मंसिर ४ गतेबाट आईपीओ निष्कासन गर्ने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। क्यापिटलले तिहारको लामो बिदा पर्न गएकोले लगानीकर्ताको सहजतालाई मध्यनजर गर्दै आईपीओ निष्कासन मिति परिवर्तन गरिएको जनाएको छ। तर कम्पनीले यस्तो बताएपनि यस कम्पनीको आईपीओ निष्कासन तत्कालका लागि रोक्न सार्वजनिक लेखा समितिले निर्देशन दिएकाले आईपीओ निष्कासनको प्रक्रिया पछि सरेको हो ।

केही दिनअघि मात्रै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले हिमालयन रिइन्स्योरेन्सको आईपीओबारे धितोपत्र बोर्डलाई पत्र पठाएर स्पष्टीकरण सोधेको थियो। सोही कारणले पनि यो आईपीओको निष्कासन मिति सारेको हुन सक्ने बताइएको छ।

कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कुल सेयरको १० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर बिक्री खुला गरिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:35