१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

८ वाणिज्य बैंकले घोषणा गरे लाभांश, बाँकी बैंकले तिहारअघि गर्लान घोषणा ?

१९ कात्तिक, काठमाडौं । हालसम्म संचालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये ८ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । भने बाँकी ११ वाणिज्य बैंकले अझै पनि लाभांश घोषणा गर्न बाँकी रहेका छन् । हालसम्म ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, एनआईसी एशिया, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सनिमा बैंक र सिटिजन्स बैंकले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हुन् ।

यी मध्येपनि पाँच बैंकले दशैंअघि नै वार्षिक साधारणसभा गरेर सेयरधनीको खातामा लाभांश पठाइसकेका छन् । लाभांश घोषणा गरेका बैंकहरूमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश घोषणा गर्ने पहिलो बैंक एनआईसी एशिया रहेको छ । यो बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यस्तै,  माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर यस बैंकको बोनस सेयर भने लगानीकर्ताको खातामा आइसकेको छैन् ।

यसैगरी, सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । बैंकले दसैंअघि नै सेयरधनीलाई नगद लाभांश वितरण गरिसकेको छ ।

एभरेष्ट बैंकले पनि दशैंअघि नै वार्षिक साधारणसभा गरेको छ । बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश गरी कूल २०.५३ लाभांश वितरण गरेको छ । एभरेष्ट बैंकले वितरण गरेको नगद लाभांश सेयधनीको खातामा आइसकेको छ ।

यसैगरी, सानिमा बैंकले पनि दशैंअघि नै वार्षिक साधारणसभा गरेको छ । बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सानिमा बैंकले वितरण गरेको नगद लाभांश पनि सेयरधनीको खातामा आइसकेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । भने सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

साथै, ग्लोबल आइएमई बैंक लिमिटेडले आज मात्र लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी कुल ९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । अहिले बाँकी ११ बैंकले कहिले सेयरधनीका लागि लाभांश घोषणा गर्लान भन्ने प्रतिक्षामा लगानीकर्ताहरुको बसेका छन् । यी बैंकहरूले पनि तिहार अगाडि नै लाभांश वितरण  गर्ने आशा लगानीकर्ताले गरेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १३:१४