२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भूकम्पका कारण रूकुम पश्चिमको सानीभेरीमा पाँचको मृत्यु, १० घाइते

१८ कात्तिक, काठमाडाैँ । गए राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका पाँच जनाको मृत्यु भएको छ ।जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेमा  वडा नम्बर २ परियार टोलका महावीर दमाईकी छोरी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाईनाबगरका ३१ वर्षीय धनविर पुन, सोही वडाकै २८ वर्षिया चुम्निमा पुन, आठ वर्षका यमराज पुन र दुई वर्षे सितम पुन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

भूकम्पमा परी हालसम्म १० जना घाइते भएको विवरण प्राप्त भएको छ । त्रिवेणी, बाफीकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा मानवीय क्षती भएको विवरण हालसम्म आएको छैन । चौरजहारी नगरपालिकामा भूकम्पमा परी घाइते भएकाको उद्धार भइरहेको र मानवीय क्षती नभएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

जिल्लाको आठविसकोट नगरपालिका भने ठूलो मानवीय क्षती भएको बताइएको छ । तर प्रहरीले हालसम्म कति जनाको मृत्यु भयो भन्ने यकिन जानकारी नआएको बताएको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७, १२:०८,१२:२९,१२:३५ गरी ४ पटकको क्रमश: ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भुकम्प गएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०६:१३