११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

अागामी वर्ष वृद्ध भत्ता बढ्छः सञ्चारमन्त्री बास्कोटा

२१ कात्तिक, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मुलुकका सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिइने बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनौती नगरपालिका–११ वडा कमिटीद्वारा आज बल्थलीमा आयोजित शुभकामना, भेटघाट एवं देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस वर्ष एक हजार सामुदायिक माध्यमिक विद्यालयलाई कम्प्युटर ल्यावको व्यवस्था गरिने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सरकार समृद्ध नेपाल सुखी नेपाली बनाउन पाँच वर्षे खाका तयार गरी अघि बढिसकेको बताउनुभयो । उहाँले सरकारले अर्को वर्ष सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता बढाउने तयारी गरेको बताउनुभयो । “तपाईंहरु ढुक्क हुनुस् अर्को वर्ष वृद्धभत्ता बढाउँछौँ ।” राज्यको ढुकुटीमा रु १५० अर्ब हुनुपर्नेमा अघिल्लो सरकारले रित्तो पारेकाले यस वर्ष वृद्धभत्ता बढाउन नसकिएको उहाँले दुःखेसो पोख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनौती नगरपालिका ११ वडा कमिटिद्वारा बुधबार बल्थलीमा आयोजित शुभकामना, भेटघाट एवं देउसीभैलो कार्यक्रममा नाच्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा । तस्बिरः राजकुमार पराजुली, काभे्रपलाञ्चोक, रासस

मन्त्री बाँस्कोटाले यस वर्ष वृद्धभत्ता बढाउन नसकिए पनि ७० वर्ष उमेर नाघेका वृद्धवृद्धालाई रु एक लाखसम्म स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने सरकारको निर्णय सकारात्मक भएकाले यसलाई सहजरुपमा लिइदिन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “राज्यको खाली ढुकुटी हाम्रो हातमा प¥यो, कर छली गर्नेलाई करको दायरामा ल्याएर यसलाई भर्ने काम गर्दैछौँ, यसकारण अर्को वर्ष वृद्धभत्ता बढ्छ ।” विगतका संरचनामा सामाजिक सुरक्षा भत्ताको लगत राम्रो नभएकाले यस वर्षदेखि लगत चुस्तदुरुस्त बनाइने उहाँको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले जिल्लाको महाभारत पर्वत शृङ्खलाअन्तर्गत पनौतीको लाँकुरी भञ्ज्याङदेखि भीमखोरीको घ्याङडाँडासम्म पर्यटकमार्ग तथा नेपालको उत्तरी हिमशृङ्खला अवलोकनका लागि तीन स्थानमा टावर निर्माण गरिने बताउनुभयो । “पर्यटकीय क्षेत्र भएपछि हुने आम्दानीले सुखी नेपाली समृद्ध नेपालको योजनामा केही सहयोग पुग्छ,” उहाँले भन्नुभयो । युवा सङ्घका केन्द्रीय कोषाध्यक्ष अमित लामाले युवा स्वरोजगारलक्षित कार्यक्रम ल्याउन सरकारसँग अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “स्वरोजगारले युवालाई स्वावलम्बी बनाउँछ, यसबाट विदेशिनेको सङ्ख्या घट्दै जान्छ ।”

प्रकाशित मिति : November 7, 2018 at 10:01 pm