२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

केपी ओलीसँगको निकटता देखाएर शासन गर्ने प्रवृत्तिबाट एमालेलाई जोगाउनु पर्छ !

१२ कार्तिक, काठमाडौँ । नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्रको उपयोग फेरि सुरू भएको । पार्टी अध्यक्ष केपी शर्मा ओलीको बारेमा आलोचना गर्ने र चुनाव लड्नेहरू सिधै अयोग्य हुने भास्य बन्दै गएको एमालेमा पछिल्लो समयमा युवाहरूले पार्टीभित्रको समस्याका बारेमा सांकेतिक रूपमा बोल्न थालेका छन ।

पार्टीको प्रदेश अधिवेशनहरूमा ओलीले इशारा दिएका र जिताउनु भनेर आदेश दिएका उम्मेदवारहरू नै कार्यकर्ताले अस्वीकृत गरेपछि विभिन्न कोणबाट पार्टी भित्रको गलत प्रवृतिका बारेमा सुझावका रूपमा आलोचनाहरू सार्वजनिक हुन थालेका छन । पार्टीका केन्द्रीय सदस्यहरूले यस बारेमा मुख खोल्न थालेका छन । यसरी मुख खोल्नेमा विगतमा केपी ओलीको समूहभित्रै हुर्किएका नेताहरू समेत रहेका छन ।

केपी शर्मा ओलीलाई सीधै गलत भन्न नसक्नेहरूले घुमाउरो पारामा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालको नाम प्रयोग गरेर वा प्रयोग नगरी आफ्ना भनाइहरू राखिरहेका छन । एमालेका एक प्रभावशाली केन्द्रीय सदस्य माधव ढुंगेलले १२ घण्टामा सामाजिक सञ्जालमा दुई टिप्पणी राखे । जसमा पार्टभित्रको समस्यालाई एमालेको नामै नलिइ संकेत गरिएको छ । उद्धरण चिन्हको प्रयोग गरेर ढुंगेलले पहिलो टिप्पणीमा अध्यक्षको सचिवालय र पार्टी हेडक्वार्टर चलाउनेहरूले अध्यक्षको चरम चाकडी गर्ने र माथिको सामिप्यता देखाएर तल शासन गर्ने प्रवृति रहेको भन्दै त्यस्तो प्रवृतिबाट राजनीति र समाजलाई जोगाउनुपर्ने बताएका छन ।

केन्द्रीय सदस्य माधव ढुंगेल !

उनले उल्लेख गरेका छन, ‘‘दुःख-कष्ट र जोखिमले घेरिएको लामो संघर्षको ईतिहास रचेर आजको वर्तमान विरासत निर्माण गर्ने नेतृत्व प्रति आदर र सम्मान गर्नु हामी सवैको कर्तव्य हो तर माथि चरम चाकडी गर्ने र माथिसँगको सामिप्यता देखाएर तल शासन गर्ने प्रवृत्तिवाट राजनीति र समाजलाई जोगाउनु पर्छ ।’’

त्यस्तै दोस्रो टिप्पणीमा ढुंगेलले नेतृत्वलाई गलत सूचना दिएर गलत निर्णयहरू गर्न उद्धत गरिएको संकेत गरिएको छ । उनले भनेका छन, ‘‘निर्णय गर्ने नेतृत्व तथा अधिकारीले आफ्ना सुचनाका श्रोतहरुको सही पहिचान गर्न सक्नु पर्दछ र सुचना दिनेहरुले पनि सही सुचना दिनु पर्दछ। सुचनाको श्रोत सही भएन भने नेतृत्वको वुझाई सही हुदैन, नेतृत्वको वुझाई सही भएन भने निर्णय सहि हुदैन र निर्णय सही भएन भने परिणाम पनि सही आउदैन ।’’

एमालेको दशौँ महाधिवेशनपछि केही महिना यता आन्तरिक लोकतन्त्रको प्रयोगमा केही युवा नेताले हिम्मत जुटाइरहेका छन ।यसअघि ओलीसँग चुनाव लडेको भनेर पूर्व उपाध्यक्ष डा भीमबहादुर रावललाई किनारा लगाइएको थियो भने कुनै समय ओलीको बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै दर्जनौँ नेताहरूलाई स्थानीय, प्रदेश र संघको निर्वाचनमा टिकटबाट बञ्चित गरिएको थियो । एमालेमा पछिल्लो समय संकेतिक रूपमा नेतृत्वको वरिपरिकाले गलत सूचना दिएर गलतबाटोमा हिडाउन खोजेको भन्ने कतिपय नेताको बुझाइले भ्रमको पर्दाहरू च्यातिन सुरू गरेको अुनमन गर्न सकिन्छ ।

प्रकाशित मिति : October 29, 2023 at 8:21 am