२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

दुःखमा धैर्य र अभावमा पनि खुसी देखिन सक्नु नेपाली समाजको स्वभाव: पूर्वअध्यक्ष रेग्मी

७ कात्तिक, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सद्भावपूर्ण नेपाली परम्परा, आपसी प्रेम र भ्रातृत्व भाव कायम राख्दै अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

बडादसैँका अवसरमा आज शुभकामना दिँदै उहाँले दुःखमा धैर्य र अभावमा पनि खुसी देखिन सक्नु नेपाली समाजको स्वभाव एवं चरित्र भएकाले महँगी र गरिबीमा पनि गच्छेअनुसाको आर्थिक र सामाजिक व्यवहार गर्दै खुशियालीका साथ विजया दशमी मनाउन आग्रह गर्नुभएको छ ।

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भन्नुभएको छ, “बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाजमा विशेष चाडका रुपमा विजयादशमी हर्षोल्लासका साथ मनाइन्छ, यस अवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकमाना व्यक्त गर्न चाहन्छु ।”

उहाँले धार्मिक सहिष्णुता, जातीय सहअस्तित्व र साम्प्रदायिक सुसम्बन्ध उदाहरणीय रुपमा रहेको नेपाली समाजमा केही अलमल र खलबलका सङ्केत देखापर्नु वाञ्छनीय नभएको उल्लेख गर्नुभएको छ । पूर्वअध्यक्ष रेग्मीले भन्नुभएको छ, “विकास, समृद्धि र सामाजिक रुपान्तरणका लागि नेपाली आवश्यकतालाई सम्बोधन गर्ने गरी अझ पनि सामाजिक तथा राजनीतिक वातावरण किन स्वच्छ हुन सकिरहेको छैन ? नेपाली समाजमा अहम् प्रश्नको रुपमा आज पनि रही रहनु सुखद् पक्ष होइन ।”

सन्देशमा पूर्वअध्यक्ष रेग्मीले विजयादशमीले शान्ति, समृद्धि, आपसी सद्भाव, सांस्कृतिक सहिष्णुता, सहकार्य र एकता अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिलोस भनी कामना गर्नुभएको छ । उहाँले सबैमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : October 24, 2023 at 7:45 am