दुई वाणिज्य बैंकको लाभांश सेयरधनीको खातामा जम्मा, दशैंखर्च पाउँदा सेयरधनी दङ्ग
२ कात्तिक, काठमाडौं । दुई वाणिज्य बैंकले सेयरधनीको खातामा नगद लाभांश जम्मा गरेका छन् । सिटिजन्स बैंक र एभेष्ट बैंकले सेयरधनीको खातामा लाभांश पठाएका हुन् । दशैंअघि लाभांश दिनेमा पहिलो सिटिजन्स बैंक रहेको छ भने दोस्रोमा एभरेष्ट बैंक रहेको छ । दशैंखर्च पाउँदा लाभांश पाउँदा सेयरधनी दङ्ग परेका छन् ।
सिटिजन्स बैंकले गत असोज २६ गते साधारणसभा गरी सेयरधनीलाई चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश सिटिजन्स बैंकले मंगलबारबाट सेयरधनीको खातामा पठाएको हो ।
यसैगरी, एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश रकम बैंकले बुधबार सेयरधनीको खातामा पठाएको हो । यी दुई बाहेक अन्य केही बैंकले साधारणसभाबाट लाभांश पारित गराइसकेका भए पनि सेयरधनीको खातामा भने पठाएका छैनन् ।
प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १५:१३