सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधीबाट आईपीओ निष्काशन गर्न स्वीकृत
१ कात्तिक, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधीबाट प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्ने स्वीकृति दिएको छ । सोमबार बसेको बोर्डको संचालक समितिको बैठकले कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
धितोपत्र बोर्डले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन हुने सेयरको ४० प्रतिशतले हुने २४ लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट ल्याउन सर्वोत्तम सिमेन्टलाई स्वीकृति दिएको हाे ।
कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशयमूल्यअनुसार आधारमूल्यमा २० प्रतिशत थप गरी हुने माथिल्लो सीमा ७५१.५० रुपैयाँ र तल्लो सीमा ५०१ रुपैयाँ हुनेगरी धितोपत्र बोर्डमा आवेदन दिएको थियो।
धितोपत्र बोर्डले कम्पनीको आधारमूल्य ५०१ रुपैयाँ तय गरेर निष्कासनको अनुमति दिएको छ। अब बिक्री मूल्यमा माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि जानसक्ने गरी ६०१ रुपैयाँ र तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ४०१ रुपैयाँभित्र योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्नुपर्नेछ ।
अब कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट आईपीओ बिक्री खुला गर्नेछ। योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन हुने सेयर जुन मुल्यमा बिक्री हुन्छ, त्यसलाई नै कटअफ मूल्य मान्ने व्यवस्था बुक बिल्डिङ निर्देशिकामा गरिएको छ। यसरी निर्धारण हुने कटअफ मुल्यमा १० प्रतिशत छुट दिई कम्पनीले बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउनेछ ।
प्रकाशित मिति : 12:36









