१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति घट्यो ?

३० असोज, काठमाडौं । हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन्। बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार अधिकांश बैंकहरुको ब्याजदर घटाएका छन्।

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सूचना अनुसार १४ बैंकहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन्। त्यसैगरी, ४ बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने २ बैंकहरुले ब्याजदर बढाएका छन्।

२० बैंकहरुमध्ये असोज महिनाको तुलनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक रहेको छ। बैंकले कात्तिकका लागि ब्याजदर १.८३ प्रतिशतविन्दुले घटाएको छ। असोज महिनामा ११.०५४ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, कात्तिक महिनामा ९.२२४ प्रतिशतमा झरेको छ। त्यसैगरी, प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ प्रतिशतविन्दुभन्दा बढी ब्याजदर घटाएका छन्।

सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने असोज मसान्तकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यता नेपाल एसबिआई बैंक र एनएमबि बैंकले भने ब्याजदर बढाएका छन्। एनएमबि बैंकको ब्याजदर १.०१३ प्रतिशतविन्दुले बढेको हो।

कात्तिक महिनाका लागि अधिकांश विकास बैंकहरुले भने मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। उनीहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा १०.२५ प्रतिशत र संस्थागतमा ८.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्। असोजमा विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ११ प्रतिशत र संस्थागतमा ९ प्रतिशत ब्याज दिँदै आएका छन्।

प्रकाशित मिति : October 17, 2023 at 9:47 am