मेरो सेयर प्रयोगकर्ता ५० लाख नाघ्यो, डिम्याट खाता खाेल्नेकाे संख्या कति ?
१६ असाेज, काठमाडौं । नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो समय सेयर बजारप्रति आकर्षक बढ्दै गएको हाे। आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो ।
सेयर बजारको प्रवेश विन्दु नै डिम्याट खाता भएकोले यो लिने मानिसहरुको क्रेज दिनानु दिन बढिरहेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाताको संख्या भने ५९ लाख ४१ हजार १२८ पुगेको छ । यस अवधिमा मेरो सेयर खाता खोल्नेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या ५० लाख ९९६ पुगेकाे छ ।
आईपीओमा आवेदन दिन, हकप्रद सेयर भर्न र इडीआइएस गर्न मेरो सेयरबाट सजिलो हुने हुँदा यसको प्रयोगकर्ताहरु बढेका हुन् । अनलाइनबाट सबै कारोबार गर्न मिल्ने हुँदा प्राथमिक वा दोस्रो बजारका लगानीकर्तालाई मेरो सेयर अकाउन्ट अनिवार्य जस्तै भएको छ ।सीडीएसका अनुसार हाल ९८ संस्थाहरुले डिपी सेवा प्रदान गर्दै आइरहेका छन । अहिलेसम्म ११ अर्ब ३५ करोड १० लाख भन्दा बढी कित्ता सेयर डिम्याट भइसकेको छ । ७६ वटा कम्पनी क्लियरिङ सदस्य रहेका छन् । सि-आस्वा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाहरु ४३ पुगेका छन् ।
प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १२:१६












