४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

हाजिरी जमानीमा हिरासतमुक्त भए अभिनेता अनमोल केसी


१४ असोज, काठमाडाैँ । शुक्रवार देखि प्रहरी हिरासतमा रहेका अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । आइतबार जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएता पनि बोलाएको बेला उपस्थित हुने गरी प्रहरीले अभिभावकको जिम्मा लगाएको हो ।

अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको प्रहरीले जनाएको छ । प्रहरीसँगको बयानका क्रममा केसीले स्क्रिप्ट मन नपरेपछि आफूले खेल्न अस्वीकार गरेको बताएका थिए । साथै उनले निर्माताले १० लाख रुपैयाँ आफ्नो खातामा हालिदिएको तर फिर्ता लैजान भन्दा नमानेको बताएका थिए ।

चलचित्र ‘रावायण’को निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवाल (चन्द्रकला कटुवाल)ले दिएको उजुरीको आधारमा केसी पक्राउ परेका थिए । छलफलको लागि पटक पटक प्रहरीले बोलाउँदा नगएपछि शुक्रवार अदालतबाट अनुमति लिएर उपत्यका प्रहरी अपराध महाशाखाले केसीलाई पक्राउ गरेको थियो ।

कटुवालले असोज ८ गते अनमोल विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । केसीमाथि प्रि प्रोडक्सनमा एक करोड ५ लाख खर्च भइसकेपछि अनमोलले काम गर्न अस्वीकार गरी विश्वासघात गरेको आरोप लगाइएको छ । ‘रावायण’मा काम गर्ने वचन दिएर अन्तिम समयमा धोका दिएको भन्दै उजुरी दिइएको थियो ।

सो चलचित्रमा काम गर्नको लागि अनमोलले अग्रिम पारिश्रमिक स्वरुप १० लाख रुपैयाँ लिएको बताइएको छ । यद्यपि अनमोलले ‘रावायण’मा काम गर्न औपचारिक सम्झौता नगरेको बताएका थिए । निर्देशक थापा यही असोज १३ गतेबाट छायाङ्कन सुरु गर्ने योजनामा थिए । चलचित्रमा नीति शाह, शिल्पा मास्के, निकिता चाण्डक लगायतका कलाकारले अभिनय गर्न तयार रहेका थिए । ठूलोपर्दासँगको सहकार्य

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार २२:०५