२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमालेमा धोकाको राजनीतिः गोकुल भन्छन, पुरा गर्न नसकिने आश्वासन कसैलाई नदिनु

१० असोज, काठमाडौँ । नेकपा एमालेमा धोकाको राजनीति बढेको छ । विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरू माथि सबैभन्दा धेरै धोका भएको भन्दै उनीहरूले गुनासो समेत गर्ने गरेका छन । केही व्यक्तिबाहेक एमाले प्रवेश गरेकाहरू मरिच चाउरिएझैँ हुने गरेका छन । पछिल्लो समय माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गरेका सुवास कर्माचार्यको व्यवस्थापनमा पार्टीको नेतृत्वले दिएको आश्वासन कार्यान्वयन नगर्ने देखिएको छ ।

बागमती प्रदेशमा सुवासको व्यवस्थापन गर्ने पूर्व सहमति अनुसार सिन्धुपाल्चोकका समाजवादीका नेता कार्यकर्ता सबै लिएर सुवास एमाले प्रवेश गरेका थिए । सुवासलाई एमाले प्रवेश गराउने महासचिव शंकर पोखरेल लगायतका नेताहरू जिल्लामै पुगेका थिए । तर पार्टी प्रवेश गराउनु अघि गरेको प्रतिवद्धता विर्सिएर एमाले नेतृत्वले सुवासमाथि धोका दिन खोजेको चाल पाएपछि एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल मार्फत पुरा नगर्न नसकिने आश्वासन किन दिनु भन्दै प्रश्न गरेका छन ।

एमाले बागमती प्रदेशको अधिवेशनको अध्यक्ष मण्डलका सदस्य समेत रहेका बाँस्कोटाले सामाजिक सञ्जाल मार्फत विगतमा झुट बोल्नुलाई कला मानिनेन भए पनि अहिलेको खुला समाजमा जाली कुरा मानिने भन्दै असन्तुष्टि जनाएका छन । उनले भनेका छन, ‘राजनितीमा पुरा गर्न नसकिने आश्वासन कसैले कसैलाई नदिएकै राम्रो।कुनै समय त्यो कला मानिन्थ्यो होला।तर आजको खुल्ला समाजमा त्यो जाली कुरा मानिन्छ।बरु तत्काल रिस उठे पनि हाकाहाकी पन नै ठीक लाग्छ ओ!बिछट्टै !’

पार्टीको हेडक्वार्टरले अध्यक्ष केपी ओलीको निर्देशन बिपरित कैलाश ढुंगेलको नाममा प्यानल निर्माण गरिरहेको छ । त्यसकै सूचनापछि बाँस्कोटाको असन्तुष्टि सार्वजनिक भएको अनुमान गर्न सकिन्छ । लुम्बिनीमा पनि महासचिव निकटका हरि रिजालले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए । उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेता मैदानमै निस्किएर रिजालका लागि मत माग्दा पनि उनले चुनाव हारेका थिए । एमालेको बागमती अधिवेशन जारी छ । मंगलबारबाट निर्वाचनका कार्यक्रम सुरू हुँदैछ ।

प्रकाशित मिति : September 27, 2023 at 10:45 am