ललिता निवास जग्गा हिनामिना प्रकरणका दोषीलाई छानबिन गरी कारबाही गर्न एमालेकाे माग
१२ भदाै, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा प्रमुख सचेतक गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते मुद्दा लगाएर दोषीलाई उम्काउने खेल भइरहेको दाबी गर्दै भ्रष्टाचारसँग जोडिएका सबै विषयको छानबिन गर्न माग गरे।
उनले भ्रष्टाचार र अनियमिततासँग जोडिएका ठूला अभियुक्तलाई कानुनी दायरामा ल्याइनुपर्ने खाँचो औँल्याए । उनले भ्रष्टाचार र तस्करीले आम जनतामा निराशा छाएको र यसले सुशासन प्रवद्र्धनमा असर पुग्ने धारणा राखे । “देशको अवस्था सुधार गरी सुशासन प्रवद्र्धन हुनुपर्छ । प्राप्त उपलब्धि गुम्नसक्ने अवस्था रहेकाले यसतर्फ सरकार गम्भीर बन्नुपर्छ”, प्रमुख सचेतक गिरीले भने ।
उनले ललिता निवास प्रकरणका दोषी, सुन तस्करमा संलग्नको पारदर्शी ढङ्गले छानबिन गर्न सरकारसमक्ष माग गरे । उनले पछिल्ला दिनमा जातीय सद्भाव भड्काउने र द्वन्द्व निम्त्याउने खालका गतिविधि भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै सामाजिक सद्भाव र शान्ति प्रवद्र्धनमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति : August 29, 2023 at 12:54 pm










