१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

ढुसी परेको कोक बेच्ने कालिञ्चोक ट्रेडिङलाई महानगरले तिरायो १ लाख ५० हजार जरिवाना

१० भदाै, काठमाडाैं । काठमाडौं महानगरपालिकाले ढुुसी परेको कोक बेच्ने कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार जरिवाना गराएको छ। महानगरले काठमाडौंको पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपाललाई  उक्त जरिवाना गराएको हो।

अनुगमनको क्रममा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटिएको थियो। महानगरले जार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवाना गरिएको उल्लेख गरेकाे छ ।

महानगरले ७ दिनभित्र जरिवाना तिर्न समय दिएको छ। सात दिनभित्र जरिवाना नतिरे आवश्यक कारबाही प्रक्रियामा जाने महानगरले बताएको छ।

‘अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्नेछ । सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट गर्नु र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ जरिवाना गरेको पत्रमा उल्लेख छ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १६:२६