२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

ओली ब्राण्डिङमा एमाले कर्णालीको धावा, ओलीको तस्बिरबिनै प्रचार विभागको कार्यक्रम

६ भदौ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अनिवार्य प्रयोग गर्नुपर्ने अन्तरपार्टी निर्देशन विपरित कर्णाली प्रदेशमा प्रचार विभागको कार्यक्रम भएको छ । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर प्रयोग भएर केही दिनअघिमात्र जारी भएको अन्तरपार्टी निर्देशन पार्टीका महासचिव शंकर पोखरेलकै उपस्थितिमा धोति लगाइएको हो ।

भदौ ६ बुधबारको दिन सुर्खेतको वीरेन्द्रनगरमा रहेको गोरेटे रेष्टुरेन्टमा भएको ‘नेकपा एमालेका महासचिवसँग कफी र कुरा’ शीर्षकको कार्यक्रममा ओलीको फोटो नराखी गरिएको हो । उक्त व्यानरमा महासचिव शंकर पोखरेलको भने आधा व्यानर भरिनेगरी तस्बिर प्रयोग गरिएको छ ।

एमाले कर्णालीको प्रचार विभागले गरेको औपचारिक कार्यक्रमा पार्टीका संस्थापकहरू र अध्यक्ष केपी ओलीको तस्बिर प्रयोग नगरी महासचिवको मात्र गरिएको छ । अन्तरपार्टी निर्देशनले जे भनेको छ ठ्याक्कै उल्टो गरिएको छ ।

उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जाल मार्फत पार्टी अध्यक्षबाहेक अन्न कसैको पनि तस्बिर प्रयोग गर्न नपाइने बताएका थिए । तर पार्टी अध्यक्ष स्वंयले जारी गरेको अन्तरपार्टी निर्देशनमा भने पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीसहित अध्यक्ष ओलीको तस्बिर अनिवार्य प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।

बुधबार कर्णाली प्रदेशको राजधानीमा भएको प्रचार विभागको कार्यक्रममा अन्तरपार्टी निर्देशन विपरित ब्यानरमा महासचिव पोखरेलको तस्बिर प्रयोग गरिएको छ भने मञ्चमा वक्तामात्र बस्ने निर्देशन उल्लंघन गर्दै महासचिव बोल्दा सचिव लेखराज भट्टलाई पनि राखिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार २२:०२