२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

पार्टीभित्रको शक्तिमा योगेशको कमब्याकः शीर्ष नेतालाई एकै पटक विष्णुपुरकट्टी टेकाउँदै

४ भदाै, काठमाडाैँ । नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठक काठमाडौँ उपत्यकाबाहिर राखेको छ ।  तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले बैठकको बेला नै कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा सोही ठाउँमा स्मारकको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

“उक्त महाविधेशनबाट पार्टीले निरङ्कुश राजतन्त्रको विरुद्ध कम्युनिष्ट एक भएर संयुक्त जनआन्दोलनमा सहभागी हुने निर्णय गरेको थियो । सोही महाधिवेशनले नै पुष्पलालले अगाडि सारेको संयुक्त आन्दोलनलाई महासचिवमा निर्वाचित भएपछि मदन भण्डारीको नेतृत्वमा कार्यान्वयन गरिएको थियो”, उनले भने, “महाधिवेशन भएको ऐतिहासिक ठाउँको महत्त्व दर्शाउन यसपटक सिराहामा सचिवालय बैठक गर्ने निर्णय गरेको हौँ ।”

तत्कालीन मालेको चौथो महाधिवेशन विसं २०४६ भदौ ९ देखि १४ गतेसम्म विष्णुपुरकट्टीमा भएको थियो । सोही महाधिवेशनमा महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए । महाधिवेशनको सम्झनामा ३४ वर्षपछि एमालेले सोही ठाउँमा पार्टीको सचिवालय बैठक राखेको छ ।

पार्टीको आन्तरिक शक्तिमा भट्टराईको कमब्याक

योसँगै एमालेका सचिव योगेश भट्टराईले पार्टीको आन्तरिक शक्तिमा कमब्याक गरेका छन । मधेश प्रदेशको इन्चार्जशिप लिएको केही महिनानै भट्टराईले पार्टीको सचिवालय बैठक मधेश प्रदेशमा गराउने निर्णय गराएका छन । त्यसका लागि भट्टराईले वातावरण तयार गरिरहेका छन । उनले एकै पटक पार्टीका शीर्ष नेतृत्वलाई विष्णुपुरकट्टी टेकाउँदै छन । 

जिम्मेवारी पाउँदा कुशलता पूर्वक निर्वाह गर्ने भट्टराईले पछिल्लो समय खासै जिम्मेवारी पाइरहेका थिएनन् । मिसन ग्रासरूट परियोजनामा कर्णाली प्रदेशमा खटिएका भट्टराई अहिले मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी प्राप्त भएपछि मधेशमा एमालेको साख थप वृद्धि गर्ने अभियानमा लागेका छन । उनी केही समयदेखि मधेश प्रदेशमै बसेर पार्टीका गतिबिधिमा सहभागी भैरहेका छन ।

केही दिनअघि सचिवालय बैठक स्थल हेर्न महासचिव शंकर पोखरेलसहित भट्टराई पुगेका थिए । भट्टराईले सामाजिक सञ्जालमा पार्टी महासचिवसँगको तस्बीर राखेपछि धेरैले पोखरेललाई पार्टी अध्यक्ष र भट्टराईलाई महासचिवको रूपमा हेर्न चाहेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : August 21, 2023 at 9:44 pm