सार्वजनिक जग्गा कीर्ते गरी लुम्बीनी ग्याँस उद्योगलाई बिक्री गर्ने मालपोतका अधिकृत मनोहरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११ कात्तिक, काठमाडौँ । सार्वजनिक जग्गा कीर्ते गरी लुम्बीनी ग्याँस उद्योगलाई बिक्री गर्ने मालपोतका अधिकृत मनोहरप्रसाद पन्थीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ । लुम्बिनी ग्याँस उद्योगले सार्वजनिक जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेर खरिद गरेको खुलासा भएको छ।

लुम्बिनी ग्याँस कम्पनीले खरिद गरेको सरावल गाउँपालिका वडा नं.१ कि.न. २४ क्षे.फ.२ रोपनी १५ आना २ पैसा जग्गा किर्ते भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। मालपोत कार्यालय परासीका कर्मचारीहरु समेतको मिलेमतोमा साविक जयखानी ३ गुल्मीका दीपक सुनारले उक्त जग्गा व्यक्तिको नाममा दर्ता गराई कम्पनीलाई बिक्री गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
अख्तियारले मालपोत कार्यालय परासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भूषाल र कम्प्युटर अपरेटर एजाज खाँसहित सात जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
मालपोत कार्यालय परासीका कर्मचारीहरु समेतको मिलेमतोमा सरकारी, सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेषको नामबाट अमुक कम्पनीको नाममा बिक्री वितरण गर्ने प्रयोजनको लागि राजीनामाको लिखत तयार गरी पारित समेत गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। लुम्बिनी ग्याँस प्रालि गैंडाकोट, नवलपरासीको नाममा बिक्रीवितरण गरी भ्रष्टाचारजन्य कार्य गर्ने दीपक सुनार, बिक्रीबितरण गराउने कार्यमा प्रत्यक्ष रूपमा संलग्न बिचौलिया यादवप्रसाद भण्डारीलाई पनि भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दायर गरिएको छ ।
सार्वजनिक प्रकृतिको जग्गा लुम्बिनी ग्यास प्रालि गैंडाकोट, नवलपरासीको प्रतिनिधि भई उक्त प्रालिको नाममा खरिद गरी लिने कार्यमा प्रत्यक्ष रूपमा संलग्न लुम्बिनी ग्याँसका प्रतिनिधि सुरेन्द्रराज पौड्याल र सरकारी, सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा खरिद बिक्री गर्ने/गराउने कार्यमा प्रत्यक्ष संलग्न सुदन श्रेष्ठलाई पनि विपक्षी बनाइएको छ। अख्तियारले उनीहरुसँग जग्गाको कुल लागत २ करोड ८६ लाख ५२ हजार भराउनुपर्ने जरिवाना र कैद सजाय गर्न माग गरेको छ ।
प्रकाशित मिति : 17:51









