१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एनआरएनए साउथ अष्ट्रेलिया संयोजकमा सञ्जय पुरी, संयोजकका यस्ता छन् आगामी योजनाहरू

१७ साउन, एडिलेड । सन् २०२३-२५ का लागि एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलियाको संयोजकमा सञ्जय पुरी नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पुरी सहित अन्य केही निर्विरोध भएका छन । भने सचिव पदमा गणेश प्रसाद पराजुली र सह सचिव पदमा हेम नारायण श्रेष्ठ निर्वाचनमा प्रतिष्प्रधाबाट विजयी भएका छन ।

पोखरामा जन्मेर २००९ देखि अष्ट्रेलियालाई कर्मथलो बनाएका चालु कार्यकालमा सचिव समेत रहेका विनोद वानिया उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । भने पाल्पामा जन्मेर २०१४ देखि साउथ अष्ट्रेलियालाई कर्म थलो बनाएका सचिव पराजुली भजन किर्तन समूह तथा पञ्चेबाजा समूहमा क्रियाशिल छन् । यसैगरि रामेछापमा जन्मेर २००८ देखी अष्ट्रेलियालाई कर्म थलो बनाएका सहसचिव श्रेष्ठ रेड राईनो क्रिकेट क्लब लगायतका संस्थाहरुमा क्रियाशिल छन् ।

एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलियाको संयोजकमा सञ्जय पुरी ।

निवर्तमान कार्यसमितिमा कोषाध्यक्ष समेत रहेका विष्णुप्रसाद चापागाई पुन कोषाध्यक्षमा, सदस्यहरुमा तिरशना राई, तीर्थराज नहारकी, श्याम मुक्तान, आनन्द चन्द्र बखरेल भने निर्विरोध निर्वाचित भएका छन् । साउथ अष्ट्रेलियाबाट अष्ट्रेलियाको राष्ट्रिय समिति सदस्यमा गोविन्द राना र बिष्णुप्रसाद तिवारी भने निर्विरोध निर्वाचित भएका छन् ।

राज्यको युवा संयोजकमा सरोज बम, उप संयोजकमा रिजन केशी तथा नारी निकुञ्ज संयोजक रिजनु अधिकारी, उपसंयोजकम संगिता अधिकारी र सदस्यहरुमा अन्जु धिताल, पुष्पा भण्डारी समेत निर्बिरोध निर्वाचित भएका छन । भने मतदानको प्रक्रिया मार्फत युवा फोरमको सदस्य पदमा योल सुब्बा, विशाल भट्ट, दिनेश श्रेष्ठ, नविन गैर्हे, फुर्वा तामाङ विजयी भएका छन् ।

नव निर्वाचित संयोजक पुरी कर्णाली प्रदेशको सुर्खेतमा जन्मेर २००८ देखि अष्ट्रेलियालाई कर्मभुमि बनाएर क्रियाशिल रहेका छन् । २००९ को अप्रिलबाट एडिलेडमा बसोबास गर्दै आएका पुरी २०१९मा एनसिसि सदस्य, २०२१ मा साउथ अष्ट्रेलियाको उपाध्यक्षरहि एनआरएनएमा सक्रिय हुँदै आएका छन् । एनआरएनए अलावा एडिलेड खुकुरी क्लबमा समेत सक्रिय अगुवा हुन् पुरी । उनै संयोजक पुरीसंग दैनिकीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

आगामी दुई वर्षका योजना के-के छन् ?

👉 वर्तमान टिमबाट हस्तारण भएपछि हाम्रो बैठक बसेर छलफल गरेर अगाडी बढ्ने छौँ । मुख्य गरि टिम लिडरमा निर्वाचित भैरहँदा केहि जल्लावल्दा विषयमा केहि कार्यक्रम अगाडि बढाउनु पर्छ भन्ने लागेको छ । जसमा तीन तीन  महिनामा विद्यार्थी केन्द्रित कार्यक्रम गर्ने सोच रहेको छ । जस्तै विच सेफ्टी, रोड सेफ्टी, मेन्टल हेल्थ सम्वन्धी कार्यक्रम हुन् । यसका अलावा यहाँ रहेका शैक्षिक परामर्शदाताहरुसँग सम्वन्य गरेर सूचना शेयर गर्ने कार्यक्रम समय समयमा राख्ने छौँ । विद्यार्थी नेपालबाट आउँदा एउटा नियम हुन्छ यहाँ आउँदा परिवर्तन हुन्छ, मुख्य गरि पिआर पाउने विषय र प्रक्रियाका लगायत नियम परिवर्तन भैरहदा विद्यार्थीहरुलाई समस्या पर्न सक्ने भएकाले सहि सुचना पाउने एउटा मञ्च बनाउने प्रयास गर्ने छौँ ।

नेपालीहरुको संख्या र एनआरएनएको यहाँ सदस्यताको अवस्था हेर्दा एनआरएनएप्रति आकर्षण धेरै नभएको जस्तो लाग्दैन ?

👉 हो, एनआरएनए प्रति हामीले सोचे जस्तो आकर्षण छैन । मानिसहरुमा केहि परेपछि मात्र सम्झने अवस्था छ । तर पनि हामी पछि हट्ने अवस्था छैन । हामी कसरी यसको स्वतस्फुर्थ रुपमा सदस्यता लिन मानिसहरुलाई उत्प्रेरित गर्ने प्रयास गर्ने छौ । विदेशमा नेपाल सरकारको पहुच नपुगेको ठाउमा समेत नेपाली समुदायलाई सहयोग गर्दै एउटा अभिभावकको रुपमा स्थापित संस्था हो । तर पनि के फाईदा छ भन्ने छ नै । यसैलाई पनि ध्यानदिएर एनआरएनए साउथ अष्ट्रेलियाले विगत वर्षमा पनि नेपालीहरुका पसल तथा सेवामा छुट दिनेगरि कार्डको सुरुवात गरिएको थियो तर विविध कारणले त्यो प्रभावकारी बनाउन सकिएन । अझ अहिले त ठुला व्यवसायी संस्थामा नसके पनि हामी र हामीलाई माया गर्ने समुदायका व्यवसायमा एनआरएनए कार्ड देखाउदा केहि छुट सहुलियत पाउने व्यवस्थाका लागि छलफल गर्छौ ।

एनआरएनए साउथ अष्ट्रेलियाको चुनौती के-के देख्नु भएको छ ?

👉 यो एक स्वयंसेवी संस्थाको यसको चुनौती निकै धेरै छन् । कतिपय हाम्रो संस्थासँग धेरै अपेक्षाहरु हुन्छ जो हाम्रो दायर भन्दा पर हुने गरेको छ । अर्को हामी नेपाली हौ । त्यहाका अन्तरविरोध, शैली यहा पनि संगै आएका छन् । उदाहरणलाई भन्दा राजनितिक अन्तरविरोधले कहिले काहि अल्ली अप्ठारो पनि पारेका छन् । तर यो विस्तारै मिल्दैछ। हाम्रो समाजको यहा विकास क्रम धेरै नभएकाले मात्र हो समय क्रममा मिल्छ । जस्तो यस बर्ष संयोजक सहित धेरै पदमा भएको सर्वसम्मति भएको छ ।

यहाँका सरकारी निकायहरुसँगको सम्बन्धहरू आगामी दिनमा कसरी बढ्ने छन् ?

👉 यो महत्वपूर्ण सवाल हो । पछिल्ला वर्षहरुमा हामीले यहाँको सरकार तथा काउन्सिलहरूसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेका छौँ । नेपाली समुदाय ठुलो हुदै गएसंगै राज्यस्तरबाट पनि हामी प्रति चासो बढेको छ । गत नेपाल फेस्टिवलमा चालिस हजार डलर सहयोग पायौ । आगामी दिनमा यो सम्वन्धलाई अझ मजबुद बनाउदै हाम्रो समुदायको हितमा उपयोग गर्ने हाम्रो मुख्य उद्देश्य हुने छ । भने हामी जस्तै अन्य समुदायसंग पनि हाम्रो सम्वन्ध औपचारिक विस्तार गर्ने प्रयास गर्ने छौ । उनीहरुका कार्यक्रमहरुमा पनि संस्थागत उपस्थिति तथा सहभागी जनाउने तथा हाम्रोमा पनि निमन्त्रणा गर्ने छौ । हाम्रो सांस्कृतिक प्रस्तुतिहरु आदान प्रदान गरेर सम्वन्ध विस्तार बढाउने छौ ।

यहाँ हुर्कदै गरेको दोस्रो पुस्ता त अहिलेको अवस्थामा जोड्न सकिदैन, केहि योजना छन् ?

👉 छन् । हामीले दोस्रो पुस्तालाई जोड्ने महत्वपुर्ण कडी खेलकुद हो । यहा हाम्रा विभिन्न खेलकुद संग सम्वन्धीत संस्थाहरुले धेरै गर्नु भएको छ । त्यसको महत्वपुर्ण सहयोग बन्ने नै छौ भने भलिवल खेल नेपालको मुख्य खेल भैकन यहा खासै प्रवर्धन हुन नसकेकाले एनआरएनए रनिङ सिल गर्नु पर्छ भन्ने सोच रहेको छ ।

अरु योजना के-के छन् ?

👉 एनआरएनले धेरै काम गरेको छ । एउटा स्वयंसेवी संस्था भैकन यहा देखी परेका बेलामा समेत मातृभूमिमा समेत सहयोग गरेका छौ । हामी हाम्रो कार्यकालमा प्रत्येक चार महिनामा कामको रिपोर्ट सार्वजनिक गर्ने छौ । जसले संस्था प्रति समुदायको विश्वासलाई वृद्धि हुने अपेक्षा गरेको छु । अर्को पासपोर्ट लगायत नेपाली दुतावाससँग सम्बन्धित सुविधा ग्राउन्ड लेवलबाट दिने गरि वर्षको एक पटक शिविर राख्ने प्रयास गर्ने छौ ।

अन्त्यमा दैनिकी मार्फत समुदायलाई के भन्न चाहनु हुन्छ ?

👉 म सहित हाम्रो टिमलाई दुई वर्ष सेवा गर्ने अवसर दिनु भएकोमा धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु । यो दुई वर्ष समुदायका प्रत्येक सदस्यबाट हाम्रा कार्यक्रमहरुमा सहयोग गर्नु नै हुने छ र सुझाव सल्लाहहरुको समेत अपेक्षा गरेका छौ । स्वयंसेवी संस्था भएकाले हाम्रा दायराहरु पनि छन् । हाम्रो परिवार, दैनिक कामबाट समय निकालेर समुदायमा केहि गरौ भनेर आएका छौ । समुदायका प्रत्येक सदस्यबाट सहयोग र सुझावको अपेक्षा गर्छौ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १०:५७