७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

नुवाकोट काठमाडौँ पत्रकार समाज गठन, संयोजकमा जमकट्टेल

१५ साउन, काठमाडौँ । नुवाकोट घर भइ राजधानीमा क्रियाशील पत्रकारहरुको संगठन ‘नुवाकोट–काठमाडौँ  पत्रकार समाज’ गठन गरिएको छ ।

सोमबार राजधानीको युनियन हाउसमा अग्रज पत्रकार श्याम रिमालको अध्यक्षतामा आयोजित एक भेलाकाबीच रमेश जमकट्टेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

समाजको सहसंयोजकमा नवराज घिमिरे रहेका छन् । यसैगरी सदस्यहरुमा प्रशन्न ढुंगाना, प्रकाश पुडासैनी, राजन ढकाल, हरि प्रसाद भेटवाल, आशिष ढुंगाना, प्रयास श्रेष्ठ, प्रतिमा मुडभरी लगायत रहेका छन् ।

नुवाकोट स्थायी ठेगाना घर भइ राजधानीमा क्रियाशील पत्रकारहरु एकीकृत हुँदै नुवाकोटको विकास निर्माणका कार्यहरुमा संयोजन गर्नेगरी समाज गठन गरिएको बताइएको छ ।

संयोजक चयन भएपछि जमकट्टेलले समग्र नुवाकोटलाई जोड्न समाज सेतु बन्ने बताए । ‘राजधानी नजिकै भएपनि नुवाकोटमा विकास निर्माणलगायतका काममा विभिन्न समस्या र उल्झनहरु छन् । यी समग्र विषयमा पत्रकारिकताको माध्यमबाट समन्वय र सहकार्य गर्न समाजको माध्यममार्फत हामी लाग्नेछौँ’, उनले भने ।

उनले राजधानीमा क्रियाशील पत्रकारहरुलाई जोड्न विभिन्न कार्यक्रमदेखि तालिमलगायतका गतिविधि सञ्चालन गरेर संस्थालाई चलायमान बनाउन पनि लागिपर्ने बताए । पुराना पुस्तादेखि नयाँ पुस्तासम्मलाई जोडेर समाजलाई सबैको साझा मञ्च बनाइने उनको भनाइ छ ।

भेलामा बोल्दै अग्रज पत्रकार रिमालले आगामी दिनमा यसलाई चलायमान बनाउँदै नयाँ पुस्तालाई पनि जोड्दै थप रचनात्मक काम गर्नुपर्नेमा जोड दिए । नुवाकोटबाट काठमाडौं आइ विभिन्न सञ्चारगृहमा काम गर्दै आइरहेका पत्रकारहरुबीच एउटा भाइचाराको सम्बन्ध विस्तार गर्दै भोलिका दिनमा सामाजिक काममा समेत उक्त समाजलाई अग्रसर बनाउनुपर्नेमा उनको धारणा रहेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १८:०९