सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै रिलायबल नेपाल लाइफ, कति दिने आवेदन ?
१५ साउन, काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ जारी गर्न पाउने अनुमति पाएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकिएको छ।
यसैगरी कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सामूहिक लगानी कोष र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री खुला गर्न लागेकाे हाे ।
उक्त आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार ४०० कित्तासम्म छिटोमा साउन २६ गते र ढिलोमा भदौ ५ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : July 31, 2023 at 10:12 am









