२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

मोटर बाटो नभएको जग्गा धितो राखी २० लाखसम्म कर्जा पाइने

९साउन, काठमाडाैं ।  २० लाख रुपैयाँ सम्मको कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने भएका छन् । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज एक सूचना जारी गर्दै यस्ताे जनाएकाे हाे ।

बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालनजस्ता कार्यका लागि रु. २० लाखसम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोका रुपमा स्वीकार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

बैंक तथा वित्तीय संस्थाको शाखाले यस प्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा जवाफ दिनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।

‘यस निर्देशनको पालना नभएको अवस्थामा कर्जा प्रदान गर्ने संस्था वा नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिन्छ’, सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : July 25, 2023 at 10:29 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/