१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

चितवनकाे दराई सामुदायिक हाेमस्टेमा घरबास तालिम सुरु

८ साउन, चितवन । हाना नानुम फाउन्डेसन तथा उइ फ्राइन्डस दक्षिण काेरियाकाे साझेदारीमा एसिया मानवअधिकार तथा सांस्कृतिक विकास मञ्च (एसियन फाेरम) काे आयाेजनामा चितवन जिल्ला खैरहनी नगरपालिका वडा नं. १२ स्थित दराई हाेमस्टेमा घरबास व्यवस्थापन तालिम तथा कार्यशाला गाेष्ठि सुरु भएकाे छ ।

तालिम कार्यक्रमकाे उदघाटन गर्दै खैरहनी नगरपालिकाका मेयर शशी कुमार खनियाले खैरहनी पर्यटनकाे असाध्यै सम्भावना भएकाले हाेमस्टे मार्फत पर्यटन व्यवसायलाई संचालन गर्न नगरपालिकाले कार्यक्रम संचालन गर्न लागेकाे बताए । तालिम कार्यक्रममा खैरहनी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष दिपेन्द्र कुमार दराई वडा नं. ४ का वडा अध्यक्ष बेद बहादुर अधिकारी, वडा नं.१३ का वडा अध्यक्ष कुल प्रसाद भुषाल, वडा नं. १० का वडा अध्यक्ष चन्द्र विक्रम चाैधरी ले तालिम कार्यक्रम सफलताकाे शुभकामना व्यक्त गरे ।

तालिम कार्यक्रममा खैरहनी नगरपालिकाका विभिन्न वडाहरुबाट २५ जना सहभागी भएकाे एसियन फाेरमका कार्यक्रम संयाेजक एक लाल न्याैपानेले बताए । हाेमस्टे सिपकाे विकास गरि स्थानिय कला संस्कृतिकाे संरक्षण गरि आयआर्जन मार्फत महिलाहरुहरुकाे आर्थिक क्षमता बढाउन तालिम कार्यक्रम संचालन गरिएकाे एसियन फाेरमकाे संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक सिद्विचन्द्र बरालले बताए ।

हाेमस्टेकाे प्रयाेगात्मक अध्यास, सांस्कृतिक कार्यक्रम, रैथाने परिकार निर्माण, गाइडिङ सीप, हाउस किपिङ,बजारीकरण, सरसफाइ, आतिथ्य संस्कार लगायतका विषयमा तालिम संचालन गर्ने प्रशिक्षक भुमराज तिवारीले बताए । तालिम कार्यक्रम खैरहनी नगरपालिका वडा नं. १२ दराई सामुदायिक हाेमस्टेमा तीन दिन संचालन हुनेछ ।

प्रकाशित मिति : July 24, 2023 at 1:24 pm