१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा

८ साउन, काठमाडाैं । पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । मन्त्रिस्तरीय निर्णयले पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

ललितपुरको कुमारीपाटीमा मुख्य कार्यालय रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

ऐनको दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको विज्ञप्तीमा जानकारी गराएको छ ।

सहकारी विभागले २०७९ फागुन २९ गते सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । लामो समयदेखि बचतकर्ताको बचत फिर्ता नगरेपछि सहकारी विभागले पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिबी लामालगायत सञ्चालकलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जेठ १९ गते नै पत्राचार गरिसकेको छ ।

प्रकाशित मिति : July 24, 2023 at 1:30 pm