१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

शिक्षक केसीलार्इ कुटपिट गरी वेपत्ता पार्ने वडा अध्यक्ष बुढासहित ५ जना जेल चलान

१० कात्तिक, काठमाडाैँ । रूकुम पूर्वमा  कुटपिटपछि शिक्षक बेपत्ता पारेको अभियोगमा वडा अध्यक्ष सहित ५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । पुथाउत्तरगंगा गाउँपालिका–२ को पेल्मा आधारभूत विद्यालयका शिक्षक ५१ वर्षीय मखनकुमार केसीलाई बेपत्ता बनाएको अभियोगमा वडाअध्यक्ष सतसिङ बुढासहित ५ जनालाई रुकुमकोट जिल्ला अदालतले कारागार चलान गर्न निर्देशन दिएको हो ।

विद्यालयका निमित्त प्रधानाध्यापक समेत रहनुभएका शिक्षक केसी सिस्ने गाउँपालिका–६ का रहेका थिए । शिक्षक केसी त्यस विद्यालयमा २३ वर्षदेखि अध्यापनरत रहेका थिए । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले वडाअध्यक्ष बुढासहित त्यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी, त्यसै ठाउँका रामराज झाँक्री, विनोद खत्री र पुथाउत्तरगंगा गाउँपालिका–१०का खिन्ते भनिने विकास बुढालाई कारागार चलान गरेको हो ।

शुक्रबार राति ८ बजेसम्म भएको बयान र बहसपछि त्यो आदेश भएको हो । अदालतले शुक्रबार निरन्तरको सुनुवाइपछि शुक्रबार नै फैसला गरेको थियो । उनीहरुलाई शुक्रबार राति नै रुकुम पश्चिमको कारागार पठाइएको छ ।

प्रकाशित मिति : 13:20