१ असार २०८३, सोमबार | Mon Jun 15 2026

हुलाक बचत बैंकमा रहेका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने

२५ असार, काठमाडौं । हुलाक बचत बैंकमा रहेको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुुने भएको छ । नेपाल सरकारको आ.व.२०८०/०८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा हुलाक सेवा विभागका महानिर्देशक ईन्दु घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । देशभरका ६८ हुलाक कार्यालयबाट करिब ५७ हजार सर्वसाधारणको बचत खाता तथा करिब एक हजार सात सय कर्मचारीहरुको ऋण लगानीका खाताहरु विभागले बैंकका विभिन्न शाखा कार्यालयहरु मार्फत यही असार २८ गतेभित्र बैंकलाई हस्तान्तरण गर्ने भएको छ ।

हुलाक बचत बैंकका निक्षेपकर्ताहरुले राष्ट्रिया वाणिज्य.बैंकको नजिकैका शाखा कार्यालयमा गएर नियमानुसार खाता आद्यवधिक गरी आफ्नो नियमित कारोबार आगामी साउन १ गते देखि गर्न सक्नेछन् । यसरी खोलिने सम्पूर्ण खातावालाहरुलाई बैंकले चेकबुक, एटिएम कार्ड, मोवाइल बैंकिङ्ग सेवा, एसएमएस सेवा निशुल्क उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ।

नेपाल सरकारले हुलाक कार्यालयलाई आ.व.२०३२/०३३ सालदेखि सर्वसाधारणको बचत सङ्कलन गर्ने र आ.व.२०६०/०६१ देखि ऋण लगानी समेत गर्ने अनुमति दिएको थियो । हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप सङ्कलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारीहरु रहदैं आएका छन् ।

प्रकाशित मिति : July 10, 2023 at 4:50 pm